गान्तोक: अखिल सिक्किम सरकारी कर्मचारी संघ( ग्रुप सी एण्ड डी) लाई पदोन्नति गर्ने मुख्यमन्त्रीको घोषणालाई स्वागत जनाउँदै संस्थाले धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेको छ। धेरै वर्षदेखिको थाँतीमा रहेको संस्थाको माग पुरा गरिदिएकोमा संस्थाले खुशी प्रकट गरेको छ। आज राजधानीस्थित संस्थाको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका अध्यक्ष साङ्गे जाङपो भोटियाले धेरै वर्षदेखि थाँतीमा रहेको माग पुरा भएकोमा उनले संस्थाको तर्फबाट राज्यका मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन्। तर ग्रुप सी र डी अन्तर्गत सरकारी चालकहरू पनि पर्ने भएकोले चालकहरूले पनि वर्तमान सरकारबाट न्याय पाउन सक्ने उनले विश्वास व्यक्त गरेका छन्। यसरी यसै क्रममा संस्थाका महासचिव छेवाङ नर्बु भोटियाले सरकारको पहललाई स्वागत जनाउँदै अन्य मागहरू पनि राखेका छन्। विशेष गरेर नयाँ पेन्सन योजनालाई रद्द गरेर पुरानो पेन्सन योजना शुरू गरिनु पर्ने संस्थाको प्रमुख माग रहेको बताए। तर यसको निम्ति सरकारले पहल शुरू गर्नको साथै समिति पनि गठन गरिसकेको जानकारी गराए। उक्त समितिले अहिलेसम्म सरकारलाई रिपोर्ट नबुझाएकोमा दुःख प्रकट गर्दै शीघ्र रिपोर्ट सरकारसमक्ष बुझाउनु पर्ने उनले आग्रह गरेका छन्। यसरी नै कतिपय विभागमा क्याडर रिभ्यू नभएकोले पदोन्नति हुन नसकेको कारण यसलाई क्याडर रिभ्यु गरिदिने उनले मुख्यमन्त्रीलाई अपील गरे।











