१ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा हिमालश्री एथलेटिक क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा बिहीवार खेलिएको दिनको पहिलो म्याचमा हिमालश्री एथलेटिक क्लबले गोरुबथान फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट एकमात्र गोल रुलान लेप्चाले छिराए। हिमालश्री एथलेटिक क्लबका अर्पित छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस जीतको साथै हिमालश्री एथलेटिक क्लब ग्रुप बी-मा दोस्रो स्थानमा पुग्यो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।











