राम्रो काम गर्ने कर्मचारीहरू कहिले भिक्टिमाइज हुँदैनन्: मुख्यमन्त्री तामाङ

गान्तोक: राजधानीको मनन केन्द्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सरकार चौथो स्थापना दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सरकार गठन भएको चार वर्षको उपलक्ष्यमा राज्यका जनतालाई बधाई साथै शुभकामना दिए। सिक्किमे जनताले जनमत दिएर सिक्किम क्रान्तिकारी मोर्चालाई सरकार चलाउन सत्तामा पुऱ्याएको बताउँदै जनताको विश्वासलाई यथावत राख्ने उनले बचन दिए। सरकार गठन भएको शुरू-शुरूमा कतिपयले यो सरकारको कुनै वैधता नभएको बताउँदै सरकार चाँढ़ै विगठन हुनेछ भन्दै जनतालाई अन्यौलमा पारेको थियो।

यदि उक्त समय विधायकदलले आफूलाई मुख्यमन्त्रीको निम्ति नचुनेर अन्यलाई नै चुनेको भए पनि आफू खुशीको साथमा त्यो कुरालाई स्वीकार गर्ने पक्षमा रहेको बताए। चार वर्षमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किमको विकासको निम्ति अनेकौं कार्य गर्न सफल हुनुमा सबैको भूमिका र योगदान बराबर रहेको बताए। अझ यसलाई अघि बढाएर लैजानको निम्ति मिलेर काम गर्नुपर्ने सुझाउ दिएका छन्।
उनले वर्ष २००९ लाई सम्झना गर्दै सैद्धान्तिक मतभेद भएर तत्कालिन मुख्यमन्त्रीको विरुद्ध आवाज बुलन्द गर्दा आफूलाई कसैले पनि विश्वास नगरेको बताए। आफूले नयाँ सिक्किम निर्माण गर्नहेतु अघि बढ़्दा यहाँसम्म अनेकौ व्यक्तिहरूले साथ दिएको बताउँदै सबैलाई नमन गरे।
सिक्किम क्रान्तिकारी मोर्चाको सरकार गठन हुँदा सबैको मनमा त्रास थियो। अब नयाँ सरकारले के गर्ने हो भन्ने कर्मचारी अनि अधिकारीहरूको मनमा त्रास थियो तर सरकार गठन भएदेखि समावेशी सिद्धान्त सहित सरकारले काम गरेको मुख्यमन्त्री तामाङले बताए। वर्तमान सरकारले सरकारी कर्मचारीहरूको सँधै उच्च रहोस् भन्ने सोँच सहित विभिन्न योजनाहरू अघि ल्याएको पनि मुख्यमन्त्री तामाङले बताए। सिक्किमको निम्ति काम गर्ने कर्मचारीहरू कहिल्यै भिक्टीमाइज नहुने उनले जानकारी गराए। कुनै पनि राज्यमा नयाँ सरकार गठन हुँदा पूर्व सरकारले शुरु गरेको विभिन्न योजनाहरूलाई निरस्त्र गर्ने प्रचलन छ तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि पूर्व सरकारले शुरू गरेको राम्रो योजनाहरूलाई पनि अघि बढ़ाएर लगेको मुख्यमन्त्रीले अवगत गराए।
एसकेएम सरकारको कार्याकालमा राज्यको राजस्व घटेर गयो भन्नेहरूलाई जवाफ दिँदै मुख्यमन्त्री तामाङले राजस्वको आँकड़ाहरू पनि प्रस्तुत गरे। वर्तमान सरकारले १० हजार करोड़ को खर्च गरेर राज्यको विभिन्न स्थानमा पूर्वाधारहरूको निर्माण गरेको मुख्यमन्त्रीले बताए। सरकार गठनभएपछि तत्काल कोविड महामारी आएता पनि इच्छाशक्ति अनुरुप सरकारले धेरै विकासीय कार्य गरेको उनले दावी गरे। एसकेएम पार्टीले सरकार बनाउँदै सबै नयाँ रहेको हुँदा सफलतापूर्वक सरकार सञ्चालन गर्नमा सहयोग पुऱ्याउने सी अनि डी ग्रुपका कर्मचारीहरूलाई पनि सरकारले अब पदोन्नती गर्ने घोषणा गरे।
सरकारले सिक्किमे जनताको निम्ति गरेको विकासीय कार्यहरूको कारण सिक्किम राज्यमा ह्यापीनेश इन्डेक्समा भारतमा पाँचौं स्थानमा अनि पूर्वोत्तर राज्यहरूमा दोस्रो स्थानमा रहेको मुख्यमन्त्री तामाङले अवगत गराए। यसरीनै सिक्किमको गरिबी रेखा घटेर ३.८२ प्रतिशत पुगेको बताए। यसरी नै केन्द्र सरकारद्वारा जारी सरकारी इन्डेक्समा गुड गवर्नेन्समा प्रथम स्थानमा रहेको मुख्यमन्त्री तामाङले बताए। यो सम्पूर्णले चारवर्षमा सिक्किम राज्यमा वर्तमान सरकारले कार्य गरिरहेको प्रमाणित हुने गरेको मुख्यमन्त्री तामाङले बताए।

यस अवसरमा राज्यका मुख्य सचिव भीबी पाठकले चार वर्षभित्र सरकारले गरेको विकासीय कार्यहरूको विस्तृत रिपोर्ट पेस गरे। यस कार्यक्रममाझ मुख्यमन्त्री तामाङको बाहुलीबाट राज्यको उत्कृष्ट नर्सहरूलाई पुरस्कृ प्रदान गरियो,जसमा प्रथम पुरस्कार एएनएम नरमाया सुवेदी, दोस्रो पुरस्कार कर्मो लेप्चा अनि तेस्रो पुरस्कार याङ्किला भोटियालाई प्रदान गरियो।









