खरसाङ: शिक्षाविद, आध्यात्मिक चिन्तक, समाज सचेतक, तपस्वी शान्ति प्रधानको निधनमा खरसाङमा सार्वजनिक श्रध्दाञ्जली सभा सम्पन्न भएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको संयोजकत्वमा सम्पन्न उक्त श्रध्दाञ्जली सभा पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा पुस्तकालयकै अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता सम्पन्न भएको छ। शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेको उक्त सार्वजनिक श्रध्दाञ्जली सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरू, शैक्षिक संस्थानहरू, समाजसेवीहरू, शिक्षक शिक्षिकाहरू र विभिन्न समाजका प्रतिनिधिहरु उपस्थित भएर शिक्षाविद् ,आध्यात्मिक चिन्तक, समाज सचेतक, तपस्वी शान्ति प्रधानलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। उक्त सार्वजनिक श्रध्दाञ्जली सभामा स्वागत सम्भाषण राख्दै गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले सार्वजनिक श्रध्दाञ्जली सभा आयोजना विषयमा विस्तृत रुपमा जानकारी गराउँदै गोर्खा जनपुस्ताकालय भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था रहेकोले शान्ति प्रधान गुरुमाको श्रध्दाञ्जली सभा आयोजना गर्नलाई संयोजकत्व गरेको जानकारी गराएका छन्।

कार्यक्रमको शुरुमा शान्ति प्रधानको निधनमा गहिरो शोक श्रध्दाञ्जली अर्पण गर्दै एक मिनटको मौन धारण गरी चिर आत्माले शान्ति पाऊन् भनी ईश्वरसित प्रार्थना गरिएको छ। त्यसरी नै शान्ति प्रधानको तस्वीरमा खदार्पणसहित धुप दिप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। सभाको सभाध्यक्ष पूर्ण गुरुङ निरुपमको अगुवाईमा उपस्थित सबैले श्रध्दाञ्जली अर्पण गरेका थिए। यसको साथै उपस्थित सबैको बाहुलीबाट शान्ति प्रधानको नाममा १०८ वटा बत्ती बालिएको थियो। यस सार्वजनिक श्रध्दाञ्जली सभामा मुख्य रुपमा जीटीएको कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा र प्रणाम रसाइली, जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, पेमेन्द्र गुरुङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यस सार्वजनिक सभामा वरिष्ठ समाजसेवी तिलक शर्मा, गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा, जीटीएको कार्यकारी सभासद एंव भूतपूर्व छात्रा कल्पना प्रधान, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापिका साधना विश्वास, जीटीएको जनसम्पर्क अधिकारी एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, सभासद प्रणाम रसाईली, जीबी थापा, उषाकिरण तामाङ आदिले शान्ति प्रधानको विभिन्न योगदानहरू विषयमा जानकारी गराएका थिए भने शान्ति प्रधानप्रति श्रध्दाञ्जलीको शब्दहरू पनि राखेका थिए। वक्ताहरूले शिक्षाविद, आध्यात्मिक चिन्तक, समाज सचेतक, तपस्वी शान्ति प्रधानको स्मृतिमा संग्रहालय स्थापना गर्नु पर्ने सुझाव राखेका छन् भने उनको स्मृतिमा सालिग निर्माण गरिनु पर्ने पनि बताएका छन्। त्यसरी नै वक्ताहरूले अब आगामी दिनहरूमा हुने तर्क सभा, क्विज प्रतियोगिता लगायत विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरूमा शान्ति प्रधानको नाम लिएर शुरु गरिनु पर्ने विषयमा बताएका छन्। त्यसरी नै आदर्श समाज निर्माणको लागि शान्ति प्रधानले स्थापना गरेको ज्ञान प्रसार समितिद्वारा प्रकाशित पुस्तकहरू स्कूलको पाठ्य पुस्तकमा समावेस गर्न सकिए नानीहरूका चरित्र निर्माण र शिष्टाचार निर्माणमा सहयोग गर्ने बताएका छन्। आजको सार्वजनिक श्रध्दाञ्जली सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।









