गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोंचकै फलस्वरूप राज्य सरकारको सहयोगमा यहाँको मणिपाल अस्पतालमा निःशुल्क लेप्रोस्कोपिक पित्ताशय निकाल्ने अर्थात् गल ब्लाडर ओपरेशन शिविर आयोजन गर्ने भएको छ। आगामी १ जूनदेखि सेण्ट्रल रेफरल अस्पताल मणिपालमा गल ब्लाडर स्टोनको निःशुल्क लेप्रोस्कोपिक सर्जरी गराउन शिविर शुरु गरिने भएको छ। स्वास्थ्य क्षेत्रमा राज्य सरकारसँगै मणिपाल अस्पतालद्वारा राज्यवासीको निम्ति उपलब्ध गराइएको सुविधाबारे प्रकाश पार्ने यो एउटा पहल गरिएको छ। १ जूनदेखि शुरु हुने यो शिविर तीन महीनासम्म चल्नेछ। यसको समापन ३१ अगस्तको दिन हुनेछ। यस अवधि लगभग १०० गल ब्लाडर स्टोन रोगीको शल्यक्रिया गरिनेछ। मणिपाल अस्पतालका अत्यधिक कुशल शल्यक्रिया र एनेस्थेसिया विशेषज्ञहरूको टोलीले लगनशीलताका साथ यी शल्यक्रियाहरू गरिने भएको छ। राज्य सरकार अनि मणिपालको संयुक्त पहलमा राज्यवासीले सहजै स्वास्थ्यलाभको उपभोग गर्नु सकोस् भन्ने यसको मूल उद्देश्य रहेको छ।
जानकारी गराइन्छ, राज्यका सबै वर्गका विरामीहरूले उचित समयमा उपचार पाउनुपर्छ भन्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोंचकै फलस्वरूप हाल राज्यका विरामीहरूलाई प्रत्येक तहबाट सरकारले सहयोग अनि सुविधा उपलब्ध गराउने कार्य जारी रहेको छ। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा गत १४ अक्टोबर २०२२-को दिन मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रूपका अध्यक्ष डा. राजन पाईसँगको चर्चाको आधारमा संयुक्त रूपमा अभियान शुरु गरिएको थियो। सेण्ट्रल रेफरल हस्पिटल मणिपाल, सिक्किम मणिपाल इन्स्टिच्युट अफ् मेडिकल साइन्सेज, सिक्किम मणिपाल युनिवर्सिटीअन्तर्गत पित्ताशयको ढुंगाको शल्यक्रिया कार्यलाई अघि बढ़ाएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किममा पित्त थैली/पित्त नलीको पत्थरीबाट पीड़ित व्यक्तिहरूको संख्या अधिक रहेको विषयबारे गहिरो चिन्ता व्यक्त गरेपछि यस अभियानलाई गति दिइएको थियो। जसअन्तर्गत नोभेम्बर २०२२-देखि २५ मई २०२३-सम्म मोठ ३१३ विरामीको गल ब्लाडर स्टोनको लेप्रोस्कोपिक सर्जरी गरिसकेको छ।










