सरकारले दिँदैछ भने हामीले खोज्नु पनि सक्नुपर्छ: अनित थापा
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज सुकुना पानीघट्टा समष्टि अन्तर्गत सिमलबारीमा आयोजित एक कार्यक्रममा विभिन्न विकासका परियोजनाहरूको शिलान्यास गरेका छन्। आज शिलान्यास गरिएको योजनाहरूमा स्वास्थ्य अनि परिवार कल्याण विभाग अन्तर्गत सिमलबारी अनि पैनाकुमारीमा नयाँ स्वास्थ्य केन्द्र भवनको निर्माण हुनेछ। केन्द्रीय परियोजना अन्तर्गत सिमलबारी मिरिक रोडदेखि पैनाकुमारी जोटसम्म पुग्ने २.१० किलो मिटर लामो बाटोको निर्माण अनि सिंचाई तथा जलपथ विभाग अन्तर्गत पैनाकुमारीस्थित खाक्राखोराको किनारमा बनिएको देवलको पुनर्स्थापना गरिनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले भने, “मैले पानीको शिलान्यास कार्यक्रममा आएको समय यहाँको जनताले मांग गरे अनुसार आजको योजनाहरूको शिलान्यास गर्दैछु। मैले मेरो वचन अनुसार काम गरे। मैले कसैलाई झुक्याउने काम गरिन्।”
यस क्षेत्रमा जमीनको मुद्दा पनि ठूलो मुद्दा हो। पर्जा पट्टाको निम्ति एउटा समिति गठन गरेर काम गर्ने सल्लाह दिँदै उनले भने, “मुख्यमन्त्रीले दिएको पट्टालाई समेत नक्कली पट्टा भने विपक्षीले। तर भन्दै गरोस्, हामीले काम गर्नु छोड्नु हुन्न। यहाँको जमीनको पट्टाको निम्ति एउटा पर्जा पट्टा डिमाण्ड समिति बनाउनु होस्। सरकारले दिँदैछ भने हामीले खोज्नु पनि सक्नुपर्छ।”

यस क्षेत्र अन्य क्षेत्रभन्दा विकास कार्यमा पछि रहेको बताउँदै उनले भौतिक विकासको साथमा व्यक्तिको विकासमाथि पनि जोड दिनु पर्ने बताउँदै भने, “नानीहरूको शिक्षामाथि ध्यान दिनुपर्छ। भौतिक विकास संगसंगै व्यक्तिको व्यक्तित्व विकास पनि हुनुपर्छ। नानीहरूको सर्वाङ्गीण विकासको निम्ति उनीहरूलाई नृत्य, संगीतमा पनि तालिम दिनुहोस्।”
कार्यक्रममा क्षेत्रीय सभासद परेस तिर्की, कार्यकारी कल्पना प्रधान अनि अन्यको विशेष उपस्थिति रहेको थियो।









