३० मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्सले आफ्नो अजेय अभियान जारी राख्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको एकतर्फी म्याचमा युनाइटेड ब्रदर्सले नादोङ भूटिया फूटबल एकाडमीलाई ५-०-ले पिट्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा पसेर देवाशिष राईले ७६औं र ८८औं मिनटमा २ गोल गरे। यसबाहेक याबेश परियारले १५औं, कप्तान सोनम लेप्चाले २३औं र सौरभ तामाङले ३०औं मिनटमा गोल गरे। युनाइटेड ब्रदर्सका डिफेण्डर नरेन्द्र राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बुधवार दुईवटा म्याच खेलिनेछ। दिउँसो १ बजीदेखि खेलिने पहिलो म्याचमा सेसोनिअन एफसी र शेयर एफसी-बीच भिड़न्त हुनेछ। यसरी जर्जियन एफसी र कालेबुङ पुलिसबीच दोस्रो म्याच ३ बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।









