चामलिङको अगुवाइमा २५ वर्षमा सिक्किम धार्मिक पर्यटनको नयाँ उचाईमा

00-1-Sikkim-Tourism

एसडीएफ सरकारले आफ्नो कार्यकालमा जनप्रिय मुख्यमन्त्री पवन कुमार चामलिङको अगुवाइमा २५ वर्षसम्म सिक्किमलाई आकर्षक, सुन्दर, लोभलाग्दो मात्र बनाएनन् तर यतिका वर्षसम्म सिक्किमेलाई स्वालम्वी बनाउने दिशामा ऐतिहासिक कार्यहरू गरे। प्रकृति सम्पदाले भरिपूर्ण सिक्किममा चामलिङले सिक्किमेको सुरक्षित भविष्यको लागि मानव निर्मित आकर्षक तथा कलात्मक अदभुत संरचनाहरू पनि तयार गरेका छन्। कुनै पनि राज्यका अधिकांश जनसंख्या ग्रामिण भेगमा बसोबास गर्ने हुनाले तिनले आफ्नो कार्यकालमा विकास विकेन्द्रीकरण फर्मुलाअनुसार सुदुर गाउँ बस्तीमा विकासको मूल फुटाए। तिनले २५ वर्षको आफ्नो कार्यकालमा सिक्किमका चारै दिशामा भव्य भौतिक संरचना निर्माण गरेर सिक्किमेलाई धेरै हदसम्म स्वालम्वी बनाएका छन्।

गुरु पद्मसंभवको विश्वको सबैभन्दा ठूलो मूर्ति…

दक्षिण सिक्किमको नाम्ची नजिक सामडुप्चेमा रहेको गुरु पद्मसंभवको १३५ फिट अग्लो मूर्तिको आकर्षणले पनि पर्यटकलाई सिक्किम भ्रमण गर्न लालयित पार्छन्। नाम्चीबाट करिब पाँच किलोमिटर टाढा रहेको विश्वको सबैभन्दा अग्लो गुरु पद्मसम्भव वा गुरु रिन्पोचेको मूर्ति राज्य र राज्य बाहिरका बौद्ध अनुयायीहरूको लागि तीर्थस्थल बनेको छ। तामा र सिमेन्टबाट बनेको उक्त भीमकाय मूर्तिको कुल लागत करिब ६ करोड ७६ ​​लाख रुपियाँ रहेको छ। एक हजार मजदुर, इञ्जिनियर, आर्किटेक, मूर्तिकारको कठोर परिश्रमपछि निर्माण भएको यस मूर्तिको जमिनबाट कुल उचाइँ १५१ फिट रहेको छ।

परम पावन दलाई लामाले २२ अक्टोबर १९९७ मा राखेको मूर्तिको आधारशिला पूर्ण हुन छ: वर्ष लाग्यो। पद्मसम्भवको मूर्ति पूर्ण भएपछि १८ फरवरी २००४ मा सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन कुमार चामलिङले उद्घाटन गरेका थिए। गुरु पद्मसंभवलाई एक संरक्षक सन्त र सिक्किममा बौद्ध धर्मको परिचय गराउने शक्तिको रूपमा मानिन्छ। उनले ८औं शताब्दीमा सिक्किमको भ्रमण गरेको इतिहास छ।

सिक्किमको नामग्याल वंशका प्रथम राजालाई राज्याभिषेक गर्न याक्सुममा भेटेका तीन सन्तहरूमध्ये एक नागाडक सेम्पासँग सम्बन्धित भएकोले यो स्थान वर्षौंदेखि भिक्षुहरूको लागि मध्यस्थताको स्थल भएको छ। अहिले यो तीर्थस्थान सिक्किममा बौद्ध धर्मावलम्बीलगायत अन्य मानिसहरूको निम्ति मुख्य केन्द्र बनेको छ। यसको दर्शन गर्न वर्षमा हजारौं बौद्ध धर्मावलम्बीलगायत साधारण पर्यटकहरू आउने गर्दछन्। यसमा विदेशी पर्यटकहरूको संख्या पनि बाक्लो छ।

बुद्ध पार्क….

दक्षिण सिक्किमको सुन्दर पर्यटकीय स्थल राभाङ्लामा अवस्थित बुद्ध पार्क अहिले देशी, विदेशी आगन्तुकहरूको मुख्य आकर्षणको केन्द्र बनेको छ। २५ वर्षे एसडीएफ सरकारले विकास विकेन्द्रीकरणको दुरगामी योजनालाई कार्यान्वयन गर्दै निर्माण गरेको यस बुद्ध पार्कले बौद्ध समुदायको लागि महत्त्वपूर्ण स्थलचिन्हको रूपमा कार्य गर्दछ। यसको सौन्दर्य, हरियाली, इको-गार्डनले बुद्ध पार्कको सुन्दरतामा थप आकर्षण थपेको छ। यसले सिक्किममा तीर्थयात्रा पर्यटनको प्रवर्द्धनमा धेरै मद्दत पुराएको छ। यहाँ घुम्न आउने देशी विदेशी पर्यटकहरू पूर्ण रूपमा सन्तुष्ट भएर फर्कन्छन् र यहाँको व्यवस्था, वरिपरिको आकर्षक परिदृश्यहरूको खुलेर प्रशंसा गर्छन्। कम्पाउन्डभित्र रहेको छो-जो लेकले यसलाई थप आकर्षक बनाएको छ। ६० टन ताँबा, साँढे तीन किलोग्राम सुन लगाएर निर्माण गरिएको यस मूर्तिको उचाई १३७.२ फिट रहेको छ। 

१४औं दलाई लामाद्वारा २५ मार्च २०१३ मा मूर्तिलाई अभिषेक गरिएको थियो। तत्कालीन सिक्किमका राज्यपाल बीपी सिंहको विशेष उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै १४औँ दलाई लामाले मुख्यमन्त्री पवन कुमार चामलिङलाई मुगल सम्राट अशोकसित तुलना गरेका थिए। जसरी अशोकले बुद्धिजमको निम्ति कार्य गरेका थिए त्यसरी नै मुख्यमन्त्री चामलिङले सिक्किममा सोही मार्ग अपनाइरहेको बताएका थिए। म यहाँलाई लामो समयदेखि एक सफल मुख्यमन्त्रीको रुपमा चिन्छु। यहाँले सिक्किमलाई बुद्धिस्ट हेरिटेजको रूपमा पहिचान दिलाउनको निम्ति पहिलो पटक गुरु पद्मसम्भवको विशाल मुर्ति बनाउनु भयो, दलाई लामाले सम्बोधनमा मुख्यमन्त्री चामलिङको विषयमा भनेका थिए।

यहाँ स्थापित गरिएको बुद्धको मूर्तिले गौतम बुद्धको २५५०औं जन्मजयन्तीको सुखद क्षणलाई स्मरण गराउँदछ। सन् २००६ मा राभाङ्लामा सम्पन्न राज्य स्तरीय पाङलासोल समारोहमा तत्कालीन मुख्यमन्त्री पवन कुमार चामलिङले बुद्ध पार्क निर्माण गर्ने घोषणा गरेका थिए। उत्कृष्ट वास्तुकलाको नमुना रहेको बुद्ध भगवानको मुर्ति जस्तै भुइँचालो आए पनि केही नहुने अनि जस्तै हावा हुरी आए पनि कुनै नोक्सानी नहुने तक्निकी प्रयोग गरेर निर्माण गरिएको छ। पार्कमा पर्यटक र भिक्षुहरूका लागि खुला ध्यान केन्द्र साथै घरहरू र बुद्धको जीवन कथा चित्रण गर्ने संग्रहालय पनि स्थापना गरिएको छ।  बुद्धको मूर्ति दक्षिण/पश्चिम सिक्किमका सबै दिशाहरू साथै पश्चिम सिक्किमका केही ठाउँहरूबाट पनि देखिन्छ।

विश्वको सबैभन्दा अग्लो चेनरेजिङ्गको मूर्ति….

हिउँले ढाकिएको पहाडमा बसेको चेनरेजिगको १३७ फिटको मूर्ति पश्चिम सिक्किमको एक पर्यटकीय गन्तव्य पेलिङबाट १.७ किलोमिटर टाढा सांघा चोलिङमा ७,२०० मिटरको उचाइमा अवस्थित छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा रहेको विश्वकै अग्लो सरदार वल्लभभाइ पटेलको प्रतिमाको उद्घाटन गरेको एक दिनपछि अर्थात् १ नोभेम्बर २०१८ को दिन सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङले विश्वकै सबैभन्दा अग्लो मूर्ति चेनरेजिङ्गको अनावरण गरेका छन्। यो विश्वकै सबैभन्दा अग्लो चेनरेजिङ्गको मूर्ति हो, जसका लागि राज्य सरकारले ७० करोड खर्च गरेको छ। सन् २००९ मा परमपावन दलाई लामाले यस मूर्तिलाई अभिषेक गरेका थिए।

पेलिङस्थित देशको पहिलो ग्लास स्काइवक…

उचाइबाट ग्लास स्काइवक गर्दै सुन्दर झरनाहरू, मठहरू, हरियाली वनजङ्गल, आकर्षक हिमाल सबै एकै ठाउँबाट हेर्न चाहना भए पश्चिम सिक्किमको पेलिङको सुन्दर पहाडहरूमाथि एक शानदार ग्लास स्काइवाक सम्झनुहोस्। 

१. स्काईवाक समुद्र सतहदेखि ७२०० फीट माथि अवस्थित छ। जुन भारतको पहिलो ग्लास स्काइवक हो।  यहाँबाट आश्चर्यजनक दृश्यहरू अवलोकन गर्न सकिन्छ।

२. पेलिङ स्काइवाक मुनि हिमालय र मनमोहक उपत्यकाको दृश्यले कसैको मनलाई पनि नछोइ रहँदैन।

३. पेलिङ स्काइवाकबाट देख्न सकिने कञ्चनजङ्घाको मनमोहक दृश्य र टिस्टा र रङ्गित नदीहरू दृश्यले सबैलाई मोहित बनाउँदछ।

४. स्काइवाकपछि चेनरेजिङ्गको विशाल मूर्ति र साङ्गाचोलिङ्ग मठले प्रत्येक पर्यटकको ध्यान आकर्षण गराउँदछ।

सिद्धेश्वर धाम…..

सिद्धेश्वर धाम दक्षिण सिक्किमको नाम्ची शहरबाट करिब ५ किलोमिटर टाढा अवस्थित एउटा हिन्दू मन्दिर हो। यस मन्दिरलाई चारधाम मन्दिर पनि भनिन्छ। सोलोफोक नामक स्थानमा अवस्थित यस मन्दिरको उद्घाटन ८ नोभेम्बर २०११ मा गरिएको थियो। त्यसरी नै यसको औपचारिक उद्घाटन भने १६ अप्रेल २०१४ मा देशका महामहिम राष्ट्रपति प्रनब मुखर्जीको बाहुलीबाट गरिएको थियो। २८.९५८ हेक्टर जमिनमा अवस्थित यस मन्दिर तत्कालीन एसडीएफ सरकारले ११६.७५ करोड खर्चमा निर्माण गरेको थियो। १३ फरवरी २००५ मा भूमि पुजन गरेर शुभारम्भ गरिएको यस मन्दिरको निर्माण कार्य ३१ अक्टोबर २०११ मा पूर्ण भयो।

सिद्धेश्वर मन्दिरमा भगवान शिवको १०८ फिट अग्लो मुर्ति विराजमान छ। जुन धेरै किलोमिटर टाढाबाट देख्न सकिन्छ।  यस मन्दिरलाई चारधाम मन्दिर भनिन्छ किनभने यस परिसरमा भारतका चार धाम मन्दिरहरूको प्रतिकृति बनाइएको छ।  हिन्दूहरूको चार तीर्थस्थलहरू, उत्तराखण्डको बद्रीनाथ, ओडिशाको पुरी, तमिलनाडुको रामेश्वरम र गुजरातको द्वारकालाई सामूहिक रूपमा चार धाम भनिन्छ।  सिद्धेश्वर मन्दिरमा एकै ठाउँमा चार धाम मन्दिर देखेपछि सबै भक्तजनको मनमा भक्तिको आनन्द आउँछ।

सिद्धेश्वर मन्दिर अर्को विशेषता हो, यस मन्दिर परिसरमा भगवान शिवका १२ ज्योतिर्लिङ्गहरू पनि प्रतिकृति छन्।  यी विशेषताका कारण यति छोटो समयमा यो मन्दिर भारतका प्रसिद्ध मन्दिरहरूको सूचीमा परेको छ।  यी १२ ज्योतिर्लिङ्गहरू सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ओंकारेश्वर, केदारनाथ, भीमाशंकर, विश्वनाथ, त्र्यंबकेश्वर, वैद्यनाथ, नागेश्वर, रामेश्वर र भगवान शिवको घेरामा रहेका बाह्र ज्योतिर्लिङ्ग वा द्वादश ज्योतिर्लिङ्गको प्रतिकृति हुन्।

ज्योतिर्लिङ्ग भगवान शिवको प्रतिनिधित्व गर्ने पवित्र स्थान हो।  ज्योतिको अर्थ उज्यालो र लिंग भनेको शिवको प्रतीक हो।  मान्यताअनुसार शिव र ज्योतिर्लिङ्गको पूजा गर्नाले मानिसलाई बुद्धत्व प्राप्त हुन्छ।

हरेक व्यक्तिले आफ्नो जीवनमा चारधाम र १२ ज्योतिर्लिङ्गको दर्शन गर्न नसक्ने विश्वास छ।  त्यसैले सिद्धेश्वर मन्दिरमा एकै ठाउँमा चारै धाम र १२ ज्योतिङ्ग देख्न पाइन्छ। चारधाम मन्दिरलाई मौलिक मन्दिरजस्तै बनाउने प्रयास भइरहेको छ। सिद्धेश्वर मन्दिरको वातावरण भक्तिले भरिएको छ।  मन्दिर परिसरका सबै मन्दिरको दर्शन गर्न करिब २ घण्टा लाग्छ। यसै चार परिसरमा किरातीहरुको राजा यलम्बरको पनि विशाल मूर्ति निर्माण गरिएको छ।

सिक्किम घुम्न आउने पर्यटकहरू दक्षिण सिक्किमको चारधाम, गुरु पद्मसम्भवको मुर्ति, राभाङलाको बुद्ध पार्क नघुमी फर्कँदैनन्। अहिले चारधाम हिन्दू धर्मावलम्बीलगायत देशी विदेशी पर्यटकहरूको लागि विशेष आकर्षणको केन्द्र बन्दै गइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement