घटनामा एसटीएफले महिलासहित ४ जना पक्राउ
सिलगढी: एम्बुलेन्समा ताबूत राखेर त्यसमाथि सेतो लुगा ओडाएर, फुलमाला चढाएर मानिसहरू पनि साथमा बसेका थिए। हेर्दा कसैको मृतदेह लगिरहेको देखिन्थ्यो।वास्तवमा त्यो ताबूत खोलेर हेर्दा त्यसभित्र मृतदेह नभएर गाँजा राखिएको थियो।

एम्बुलेन्समा ताबूतभित्र गाँजा राखेर तस्करी गर्न लगिरहेको थियो। आज आमबारी क्यानल रोड नजिक राज्य पुलिसको स्पेसल टास्क फोर्स (एसटीएफ) ले अभियान चलाएर उक्त एम्बुलेन्सलाई रोकेर छानबीन गर्दा ताबूतभित्रबाट लगभग ५६ केजी गाँजा उद्धार गरेको बताइएको छ। घटनामा एउटी महिला सहित ४ जनालाई पक्राउ गरेको छ।

पक्रा परेकाहरू कुचबिहार निवासी समिर दास (२८), अपूर्व दे (५४), पप्पु मोदक (३१) र सरस्वती दास (३४) सामेल छन्। एसटीएफ-ले पक्रा परेका आरोपीहरूलाई एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ।









