गान्तोक। आज डुगा बीएसी अन्तर्गत सुमिन लिङ्गजे जीपीयूको सिक्किमका राज्यपाल गंगा प्रसादले भ्रमण गरे। डुगा बीएसीका कार्यालय अधीक्षक अदिप केसीले सुमिन लिङ्गजे जीपीयूको भावी विकास योजना, कार्यालय विवरण, पूर्वाधार, सड़क एवं यातायात विवरण, पर्यटन सुविधाहरूको उन्नयन, जनसांख्यिकी, भौगोलिक आदि विषय पावरपोइन्ट प्रस्तुति दिए।
राज्यपाल प्रसादले आफ्नो सम्बोधनमा यहॉंका कृषकहरूले प्राप्त गरेका प्रोत्साहन राशिप्रति हर्ष व्यक्त गरे। उनले अप्पर सुमिनमा सडक मार्ग निर्माणबारे उच्च अधिकारीहरूसॅंग कुरा गर्ने वचन दिए। हालका विकास कार्यहरूमाथि बोल्दै राज्यपालले सिक्किममा केशरको खेती र औषधीय बिरुवाहरूको सम्भावनामाथि प्रकाश पारे। राज्यपालले लोवर सुमिन माध्यमिक विद्यालयलाई तीन लाख रूपियॉं र पञ्चायत भवन उन्नयनको निम्ति दुई लाख रूपियॉं प्रदान गर्ने घोषणा गरे।
नाम्चेबुङ समष्टिका विधायक एम प्रसाद शर्माले क्षेत्रवासीको तर्फबाट राज्यपाललाई धन्यवाद दिए। उनले नाम्चेबुङका जनताले राखेका सबै मागहरू मुख्यमन्त्री कार्यालयमा पुगिसकेको जानकारी गराए। उनले पीएमएफएमई जस्तो योजनाहरूले कृषकहरूलाई आत्मनिर्भर सिक्किम बनाउने प्रोत्साहित गर्नेछ भनी आशा व्यक्त गरे। उनले क्षेत्रको विकासका लागि भविष्यमा गरिने कार्यहरूबारे पनि जानकारी दिएका थिए।
यसैगरी, जिल्लापाल टाशी छोपेलले राज्यपालद्वारा ग्रहण गरिएको बेङ फेगयोङ जीपीयूको इतिहासमाथि प्रकाश पारे। जीपीयूका सुदूर ठाउॅंहरूको भ्रमण गरिरहेकोमा उनले राज्यपालप्रति आभार प्रकट गरे।
कार्यक्रममा राज्यपालको बाहुलीद्वारा दुग्ध सहकारी संस्था र दुग्ध कृषकहरूलाई सरकारद्वारा प्रदान गरिने दुग्ध प्रोत्साहन वितरण गरियो। यस अवसरमा क्षेत्रका कूल ६४७ कृषकलाई २६,,५९,५६१ रूपियॉं प्रोत्साहन वितरण गरियो। कार्यक्रममा स्थानीय विद्यालयका नानीहरू र एसएचजी सदस्यहरूले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।










