गान्तोक। आज भारतीय जनसंघका संस्थापक डा. श्यामा प्रसाद मुखर्जीको पुण्यतिथि भाजपा, सिक्किम प्रदेश एकाईले बलिदान दिवसको रूपमा पालन गऱ्यो। सिङ्तामस्थित पार्टी प्रदेश कार्यालयमा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष डीबी चौहान, उपाध्यक्ष एवं विधायकगण सोनाम भेन्चुङ्पा, वाईटी लेप्चा, उपाध्यक्ष अर्जुन राई, महासचिव सुदीप प्रधानलगायत पार्टी प्रदेश कार्यसमिति सदस्यगण, मोर्चा पदाधिकारीगण, जिल्ला तथा मण्डल कार्यकारिणी एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश अध्यक्ष डीबी चौहानले डा. श्यामा प्रसाद मुखर्जीको जीवनीमाथि प्रकाश पार्दै भारत स्वतन्त्रताको अवधि र तत्कालीन राजनीतिक परिदृश्यमा डा. मुखर्जीको योगदानबारे उपस्थित कार्यकर्ताहरूलाई अवगत गराए। स्वतन्त्र भारतका प्रथम उद्योग मन्त्री रहेका डा. मुखर्जी एक प्रखर राष्ट्रवादी नेता रहेको अवगत गराउँदै नेहरू सरकारले जम्मू काश्मीरलाई प्रदान गरेको धारा ३७० अनि ३५ए -को प्रखर विरोधी रहेको र त्यहींदेखि अलग्गिएर उनले भारतीय जनसंघको स्थापना गरेको जानकारी दिए।
एक देश, एक ध्वज, एक प्रधान, एक संविधानको अवधारणालाई लिएर जम्मू काश्मीरको भ्रमण अवधि पुलिस हिरासतमा आजकै दिन उनको रहस्यमय रूपमा मृत्यु भएको पनि उनले जनाए। डा. श्यामा प्रसाद मुखर्जीद्वारा स्थापित भारतीय जनसंघकै नीति सिद्धान्त अनि लक्ष्यलाई अघि बढ़ाउँदै आज भारतीय जनता पार्टीले काम गरिरहेको अनि नरेन्द्र मोदी सरकारले विगत वर्ष २०१९ मा जम्मू काश्मीरबाट धारा ३७० अनि ३५ए-लाई निरस्त गरेर डा. मुखर्जीलाई साँचो श्रद्धाञ्जलि अर्पण गरेको अध्यक्ष चौहानले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रवक्ता डा. राजु गिरीले डा. मुखर्जीको जीवनकालका विविध घटनाक्रमहरूमाथि प्रकाश पार्दै शिक्षाविद्को रूपमा उहाँको योगदान अनि हजारौं वर्षदेखिको भारतीय संस्कृति र सभ्यतामाथि जनसंघको अवधारणाबारे विस्तृत रूपमा उपस्थित कार्यकर्ताहरूलाई जानकारी गराएका थिए।
उल्लेख्य, भारतीय जनसंघका संस्थापक डा. श्यामा प्रसाद मुखर्जीको जन्म ६ जुलाई, १९०१ को दिन कोलकातामा भएको थियो भने केवल ५१ वर्षको उमेरमा जम्मू काश्मीरको यात्रा अवधि २३ जून, १९५३-मा पुलिस हिरासतमा रहस्यमय ढंगमा उनको मृत्यु भएको थियो। भारतीय जनता पार्टीले प्रतिवर्ष २३ जून, बलिदान दिवसको दिनदेखि आगामी ६ जुलाई, डा. मुखर्जीको जन्मजयन्तीसम्म विविध सेवाकार्यका साथ पालन गर्दै आएको छ भने पार्टी प्रदेश एकाईले आजदेखि आगामी १४ दिनको निम्ति डा. मुखर्जीलाई समर्पित गर्दै विविध कार्यक्रमहरू गर्ने निर्धारित गरिएको छ।










