अन्तरराष्ट्रिय ओलम्पिक दिवस पालन

IMG_20220623_214040.jpg

गान्तोक। आज राजधानीको पाल्जोर स्टेडियममा सिक्किम ओलम्पिक एसोसिएसनले अन्तरराष्ट्रिय ओलम्पिक दिवस मनायो। ‘शान्तिमय संसारको लागि सँगै’ थीममा मनाइएको थियो। कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथि थिए। कार्यक्रममा एसओएका अध्यक्ष कुबेर भण्डारी, महासचिव अर्जुन अवार्डी जसलाल प्रधान आदि उपस्थित थिए। मुख्य अतिथि सांसद सुब्बाले राज्यमा खेल संस्कृतिको प्रवर्द्धन गर्न र खेलाड़ीहरूलाई सहायता प्रदान गर्न एसओए तथा सबै सम्बन्धित खेल संस्थाहरूले दिइरहेको योगदानको सराहना गरे। उनले खेलाड़ीहरूलाई आफ्नो उत्कृष्ट प्रदर्शनका लागि बधाई दिॅंदै भविष्यका प्रयासहरूको निम्ति सफलताको कामना गरे। खेल पूर्वाधार विकास, खेल क्षेत्रको संस्थागतीकरण र यसलाई व्यवस्थित बनाउने सरकारको प्रतिबद्धता दोहोराउॅंदै सांसद सुब्बाले सिक्किमलाई देशमा खेल क्षेत्रको केन्द्र बनाउन सबै पक्षबाट सामूहिक पहलको निम्ति आह्वान गरे। तिनले खेललाई पेशाको रूपमा अपनाउन र खेलाड़ीहरूलाई उच्च स्थान प्राप्त गर्न आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्न प्रोत्साहित गरे। इन्डोर पाल्जोर स्टेडियममा पालन गरिएको अन्तरराष्ट्रिय ओलम्पिक दिवस कार्यक्रम अन्तर्गत ब्याडमिन्टन, टेबल टेनिस, ताइक्वाण्डो, कराटे, किकबक्सिङ, वुशु, कब्बडी, चेस, भारोत्तोलन र बास्केटबल खेलहरू सम्पन्न गरियो। यस अवसरमा एसओएले राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा मेडल जितेर ल्याउने राज्यका खेलाड़ीहरूलाई सम्मान जनायो।
यस अघि खेल विभाग मन्त्री केएन लेप्चा समारोहमा सहभागी बनेर पाल्जोर स्टेडियमको सम्मेलन हलमा एसटीएनएम अस्पताल र एसओएद्वारा संयुक्त रूपमा आयोजित रक्तदान शिविर भ्रमण गरेका थिए। कार्यक्रममा मुख्यमन्त्री पीएस गोले र खेल मन्त्री लेप्चाको सन्देश पढ़ेर सुनाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement