कालचिनीः केन्द्र सरकारले सयदिने कामको पैसा र आवास योजनाको रकम रोकेर राखेको एवम् प्रतिहिंसाको राजनीति गर्दै बंगालको जनसाधारणलाई वञ्चित गरेको विरोधमा सोमबार तृणमूल युवा कांग्रेसको आयोजनामा हाँसीमारा र कालचिनीमा विरोध ऱ्याली र पथसभा गर्दै भाजपा सांसद र विधायकको पुतला दहन गऱ्यो। हाँसीमारामा तृणमूल कांग्रेसको आयोजनामा वृहत ऱ्याली र पथसभाको आयोजना गरिएको थियो भने सो पथसभामा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामी, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, तृणमूल युवा कांग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत लगायत हाँसीमारा, साताली, दलसिंहपाड़ा, जयगाउँ अञ्चलका तृणमूल समर्थकहरूको जमघट रहेको थियो।
केन्द्र सरकारले निर्दोश जनताको सयदिने कामको पैसा अड़काएर राखेको अनि आवास योजना पनि अड़काएको र यसको लागि यहाँका सांसद तथा केन्द्रिय मन्त्री जोन बारला र कालचिनी विधायक विशाल लामा, मनोज तिग्गा, मनोज उराँव र दिपक बर्मनले केही काम नगरेको आरोप लगाउँदै तृणमूल समर्थकहरूले सांसद र विधायकको पुतला दहन गरेको थियो। यता कालचिनी चौपतिमा पनि तृणमूल युवा कांग्रेसको आयोजनामा पथसभा सम्पन्न भएको थियो भने यसको नेतृत्व तृणमूल युवा कांग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले गरेको थियो। केन्द्रको भाजपा सरकारले बंगालको निर्दोष जनताले कमाएको सयदिने कामको पैसा र आवास योजना रोकेर राखेको र ईडी र सीबीआईको दुरुपयोग गरेको विरुद्ध यो पथसभा गरीएको पवन योल्मोले थप जनाएका छन्।










