सोरेङ: केही दिनदेखि टिम्बुरबुङमा चितुवाले आतंक मच्याउँदै आइरहेको थियो। यस घटनालाई लिएर स्थानीयहरूले वन विभागसमक्ष धेरै पल्ट सिकायत गरेपछि अन्ततः चितुवालाई समात्न विभाग सफल बनेको छ। स्थानीयहरूको गाई, बाख्रा, कुकुर, बिरालो मारेको घटनाले स्थानीयहरू आंतकित बनेका थिए। स्थानीयहरूको सिकायत र समस्यलाई गम्भीरतापूर्वक लिँदै टिम्बुरबोङमा वन्यजन्तु रेञ्जद्वारा थापिएको खोरमा आज चितुवा पार्न सफल भएको छ। जानकारी गराइन्छ, पश्चिम वन्यजन्तु डिभिजन अन्तर्गतको वन्यजन्तु रेञ्ज सोरेङ, बर्से रोडोडेण्ड्रन अभयारण्यमा केही समय वन्यजन्तुले बालीनाली आक्रमण, गाईवस्तु मार्ने, घरपालुवा कुकुर र बिराला मार्ने गरेको सोरेङ जिल्लाका विभिन्न गाउँका बासिन्दाबाट धेरै गुनासो आएको थियो।
यसरी नै माथिल्लो टिम्बरबोङबाट विगत केही सातादेखि जङ्गली जनावरले गाईवस्तु र घरपालुवा जनावर उठाएको गुनासो आइरहेको थियो। यी कुरालाई ध्यानमा राखेर सोरेङ वन्यप्राणी रेञ्जका कर्मचारीहरूले यस उपद्रवी जंगली जनावर के हो भन्नेबारे सुनिश्चित गर्न विभिन्न स्थानमा क्यामेरा जड़ान गरेको थियो। यी क्यामेरामार्फत उक्त उपद्रवी जनावर जवान चितुवा (पैन्थेरा परडस) रहेको पत्तो लागेको थियो। जीवनको जोखिमबारे उल्लेख गर्दै गाउँलेहरूले सम्बन्धित प्राधिकरणलाई गुनासो दर्ता गरेका थिए। उनीहरूको गुनासोलाई ध्यानमा राख्दै वन्यप्राणी जिल्ला वन अधिकारी सुश्री निशा सुब्बाको निर्देशनमा जिल्ला प्राधिकरणले चितुवा पक्रिनुको निम्ति अप्पर टिम्बुरबोङमा हिजो २७ मईको दिन एउटा खोर थापेको थियो।
स्थानीय गाउँलेको सहयोगमा वन्यजन्तु रेञ्जका कर्मचारीहरूले गाउँ नजिकै उपयुक्त ठाउँमा ठूलो खोर राखेका थिए। साँझ अबेरसम्म खोर जड़ान गर्ने काम सम्पन्न भएको थियो र खोरमा हुने कुनै पनि गतिविधिको अनुगमन गर्न कर्मचारी खटाइएको थियो। मध्यरातमा जनावरलाई पक्रनका लागि राखिएको चारो तान्न खोज्दा उक्त जवान चितुवा खोरभित्र पसेको थियो। आज बिहान ५ बजीतिर रेञ्ज अफिसर आशीष लामाको अगुवाईमा एउटा टोलीले खोर राखेको ठाउँमा स्थलगत निरीक्षण गर्दा खोरमा थुनुवा परेको वन्य जन्तु जवान नर चितुवा रहेको पत्तो लाग्यो। उक्त चितुवालाई कुनै प्रकारको चोटपटक लागेको छैन अनि त्यो पूर्ण रूपले स्वस्थ रहेको थाहा लागेको छ। विभागीय उच्चाधिकारीहरूको निर्देशमा पक्रिएको चितुवालाई मानव बस्तीदेखि धेरै टाढ़ो उपयुक्त जंगलमा छोड़िदिएको छ।