कालचिनीः लोक संगीत अनि नाटक स्कूलको आयोजना एवम् आर्ट अफ लिभिङ वाईएलटीपी र युगान्तर परिवारको सहयोगितामा गत शुक्रबारदेखि तीन दिवसीय तामाङ डम्फु सेलो व्हाई कार्यशालाको आरम्भ कालचिनी खण्डको भाटपाड़ा स्थित झ्याङछुब छ्योई फेलिङ गुम्बामा शुरु भएको थियो भने आइतबार यसको समापन भएको जानकारी आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले दिएका छन्। सो कार्याशालाको उद्घाटन कालेबुङबाट आइपुगेका वरिष्ठ तामाङ भाषाविद तथा लेखक एचके काल्देनले गरेको थियो भने कार्यशालाबीच डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष डीबी वाईबा लगायत कालचिनी विधायक विशाल लामा, समाजसेवी तथा अवकाशप्राप्त बीएसएफ कमान्डेन्ट शरण लामा, शिक्षक रकी लामा, गुम्बा कमिटीका सभापति बादल पाखरीन एवम् अन्यान्य अतिथिहरूको उपस्थितिमा तामाङ भाषा र सेलो गीतबारे चर्चा चलेको थियो।
कालचिनीका विशिष्ट डम्फुरे आङी पासाङ डोल्मा लामाको निर्देशनमा सो तीन दिवसीय कार्यशाला चलेको रामकुमार लामाले थप जनाएका छन्।
मूलतः तामाङ जातिको एक प्रसिद्ध सांस्कृतिक औ सांगेतिक महत्त्व बोकेको डम्फु सेलो व्हाईको संरक्षण औ सम्वर्द्धना गर्नलाई नै यो कार्यशालाको आयोजना गर्दै आइरहेको र यसभन्दा अघि पनि राजाभातखावामा गरीएको र यसको निम्ति तामाङ एक्सपर्टहरू झिकाएर अझै विस्तृत कार्यशालाको आयोजना भविष्यमा गर्ने योजना रहेको रामकुमार लामाले थप जनाएका छन्।
यति मात्र नभएर डुवर्सको जनजातिय भाषा, संगीत र संस्कृतिको आदान प्रदान गर्ने उद्देश्य लिएर यो कार्यशाला सम्पन्न गरिएको र आउँदो दिनमा राभा, आदिवासी रबीन्द्र सङ्गीतमाथि पनि यस्तो कार्यशाला गरिने रामकुमार लामाले थप जनाएका छन्। आज समापन कार्यक्रममा अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको अध्यक्ष तथा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये लोडोको वाङ आशिर्वाद साथै शुभकामना पाएको र डुवर्स पर्यटन उद्यमी विश्वजीत साहको विशेष उपस्थिति रहेको पनि रामकुमार लामाले जनाएका छन्।