के-लीगः सुबोथ फूटबल एकाडमीको रोमाञ्चक जीत

photocollage_2023528203011613.jpg

२८ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सुबोथ फूटबल एकाडमी (मंगपंग)-ले असल प्रदर्शनको क्रम जारी राख्यो। स्थानीय मेला ग्राउण्डमा आइतवार खेलिएको रोमाञ्चक म्याचमा सुबोथ एफए-ले शेयर फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा सुबोथ एफए-बाट विनय तामाङले ४०औं र अर्पण लेप्चाले ६०औं मिनटमा गोल गरे। लीगमा लगातार पाँचौंपल्ट पराजित हुने शेयर एफसी-बाट रमेश सुब्बाले स्टपेज टाइममा १ गोल गरे। सुबोथ एफए-का अमोन नामग्याल लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सोमवार खेलिने म्याचमा गोरुबथान एफसी र बोंग एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

Advertisement