खरसाङ: जीटीए चिफ् अनित थापाको विशेष उपस्थितिमा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने धेरैवटा कार्यहरूका शिलान्यास एकैचोटि गरिएको छ। तीनधारे महानदी समष्टिको लागि जल जीवन परियोजनाको १४ वटा कार्यहरू, विभिन्न स्थानहरूमा निर्माण गरिने सार्वजनिक भवनहरू, उप स्वास्थ्य केन्द्र, रोड निर्माण आदिको लागि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न एक कार्यक्रमबीच जीटीए चिफ् अनित थापाको उपस्थितिमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट एकैचोटि शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता वरिष्ठ नागरिक मदनकुमार प्रधानले अध्यक्षता गरेका थिए भने सञ्चालन भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले स्वागत सम्भाषण राखेका थिए। उनले आफ्नो सम्बोधनमा तीनधारे क्षेत्रका लागि अग्निशमन केन्द्रको स्थापना गरिदिने आग्रह गर्दै तीनधारे क्षेत्रमा कला विभागबाहेक पनि विज्ञान र कमन्सको पढ़ाई पनि शुरु गर्ने निवेदन गरेका थिए।

कार्यक्रममा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा जम्मा १४ वटा जल जीवन परियोजनाको कार्यहरूका लागि शिलान्यास गरिएको विषयमा पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले आज भएको शिलान्यास कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टीमा जम्मा १४ वटा स्थानहरूमा कार्य गरिने जसको जम्मा लागत खर्च ९१ करोड़ ५५ लाख रहेको र जम्मा ६ हजार ६ सय ३० घरहरूमा पानी लाने कार्य गरिने भएको जानकारी गराएका छन्। जल जीवन परियोजना अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूमा घर घर पानी लाने कार्य गरिनेछ। यस अन्तर्गत महानदीको लागि १० करोड़ ५६ लाखको लागतमा ११९६ घरमा पानी लाने, सिविटार चियाबारीको ९२३ परिवारलाई पानी लानलाई १५ करोड़ ३२ लाखको लागतमा पानीको काम हुने, गिताङ्गेको १७० घरको लागि ३ करोड़ ३० साथमा, जंगपाना चियाबारीमा ७१५ घरहरूमा ७ करोड़ ६ लाख, तीनधारे चियाबारी र नरबुङमा ८३२ घरको लागि १२ करोड़ ३ लाख अनि सिलिम हिल चियाबारीको ३५० घरको लागि ७ करोड़ २७ लाख अनि शिवखोलाको ५५० घरको लागि ९ करोड़ ६० लाखको लागत खर्चमा साथै अन्य साना साना जल जीवन योजनाको कार्यहरू लगाएर जम्मा १४ वटा योजनाहरूका विधिवत शिलान्यास जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। त्यसरी नै उनकै बाहुलीबाट तीनधारेको मिठाईडाँड़ास्थित खेल मैदानलाई मिनी स्टेडियममा परिणत गराउन ३ करोड़ ११ लाख ७ हजार सात सय ४ रुपियाँको लागत खर्चमा गरिने भएको छ।

त्यसरी नै तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा निर्माण गरिने सार्वजनिक भवनको पनि शिलान्यास गरिएको छ जसमा नरबुङ चियाबारीमा ३८ लाख ८९ हजारमा सार्वजनिक भवन निर्माणको कार्य, गिताङ्गे चियाबारीमा किचन र टोयलेटसहित ३८ लाख ४२ हजारमा सार्वजनिक भवन निर्माणको कार्य, नयाँ कमानमा ४२ लाख हजारमा सार्वजनिक भवन, एपी बस्ती घैयाबारीमा ५० लाख २४ हजारमा सार्वजनिक भवन, सिविटार चियाबारीको मुन्शी गाउँमा १४ लाख ८९ हजारमा सार्वजनिक भवनको कार्यको शिलान्यास गरिएको छ। त्यसरी नै ५८ लाख ६९ हजार ५ सय ९५ लागत खर्चमा मालुटारको मुख्य रोडदेखि फागुटारसम्म २०० मिटरको रोड निर्माणको शिलान्यास अनि तीनधारेको राजबारीमा १६ लाख ३३ हजार ४ सय ७६ रूपियाँमा उप स्वास्थ्य केन्द्रको निर्माणको लागि शिलान्यास पनि गरिएको छ। आजको उक्त शिलान्यास कार्यक्रममा भोइस अफ् किट्स नेपालमा विजेता बनेका बिजनबारीका स्पन्दन सुब्बाको प्रस्तुति रहेको थियो। त्यसरी नै म्युजिक तीनधारेको सांगीतिक टोलीले पनि सांगीतिक प्रस्तुति दिएका थिए भने स्थानीय कलाकरहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। यसै कार्यक्रममा मुख्य आकर्षणको रूपमा गायक पुष्पन प्रधानको पनि विशेष सांगीतिक प्रस्तुति रहेको थियो। उक्त कार्यक्रमलाई युवराज सुन्दासले सञ्चालन गरेका थिए। यस शिलान्यास कार्यक्रममा जीटीएको भाइस चेयरम्यान राजेस चौहान, बिन्नी शर्मा, सभासद परेस तिर्की, भागोप्रमो केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, भक्तिमान तामाङ, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सभापति गाँधी मोक्तान, दिपक प्रधान, विभिन्न विभागका अधिकारीहरू लगायत खरसाङ महकुमा समितिको प्रतिनिधिहरू, तीनधारे महानदी समष्टिको पदाधिकारीहरू उपस्थित रहेका थिए। आज तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूका लागि जल जीवन योजनाको कार्यहरू शिलान्यास गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले विस्तृत रुपमा जानकारी गराएका छन्।