गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार बनेको चार वर्ष पुरा भएको छ। एसकेएम पार्टीले सरकार गठन गरेको चार वर्ष पुरा भएको अवसरलाई सुखद अनि महत्त्वपूर्ण बताउँदै एसकेएमका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले कर्मठ पार्टी कार्यकर्ता एवं सम्पूर्ण सिक्किमे जनतालाई हार्दिक बधाई र धन्यवाद दिएका छन्। विगत चार वर्षको अवधिमा कोभिड-१९ महामारीसँग जुझ्दै भएपनि एसकेएम सरकारले जनतालाई आवश्यक अनि आधारभूत सुविधाहरू प्रदान गरेको साथै जनमुखी कार्यहरूमा जोड दिएको मुख्यमन्त्रीले बताएका छन्। सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्रीले सन्देश जारी गर्दै भनेका छन्, जनतालाई सुख, शान्ति अनि समृद्धि प्राप्त होस भनी हामी रातदिन एक गरि खटिरहेका छौँ। साथै आगामी दिनहरूमा पनि जनताको हितार्थ खटेर काम गर्न सदैव तत्पर छौँ।
उनले अघि भनेका छन्, यस महत अवसरमा म हाम्रो गौरवशाली देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारलाई निरन्तर सहयोग, संरक्षण अनि मार्गदर्शनको निम्ति हार्दिक धन्यवाद दिन चाहन्छु। मुख्यमन्त्रीले आफ्नो सन्देशमा राज्यपाल, मन्त्रीगण, विधायकगण, सिक्किम सरकारका मुख्यसचिव, पुलिस महानिर्देशक लगायत सबै अधिकारीगण एवं सबै तह-तप्कका कर्मचारीवर्गलाई हृदयबाट धन्यबाद दिएका छन्। यसका साथै सिक्किमे सबै एकताको सुत्रमा बाँधिएर सुख शान्ति समृद्धि, उन्नति अनि प्रगतिको पथमा निरन्तर अघि बढौं भन्ने आग्रह गर्दै मुख्यमन्त्री तामाङले सरकार स्थापना दिवसको अवसरमा सबैमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै सिक्किमेको प्रत्येक पल शुभ रहोस् भन्ने कामना पनि गरेका छन्।
जानकारी गराइन्छ, एसकेएम पार्टीले २०१९ को विधानसाभा चुनाउमा १७ सिट जितेर बहुमत प्राप्त गरेपछि २७ मई, २०१९ का दिन सरकार गठन गरेको थियो।
-हिस