काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्रा परेका १६ जना प्रतिवादीहरूको बयान लिन शुरु भएको छ। यस प्रकरणमा पक्रा परेकाहरूको आज (शुक्रबार)देखि बयान लिन शुरु भएको छ। उनीहरूको काठमाडौं जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपियाँ उठाइएको आरोप छ। पुलिसले यस प्रकरणमा १६ जनालाई पक्राउ गरेकोमा अझै १४ जना भने फरार छन्। उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।