गान्तोक। आज सिक्किम सरकारको क्याबिनेट बैठक सम्पन्न भयो। आज बसेको मन्त्री परिषदको बैठकले महत्वपूर्ण निर्णयहरू लिएको छ। जसमा राज्यमा विभिन्न पाठशालाहरूको निर्माणहेतु भूमिदान गर्नेहरूलाई तीन वर्ष पछि स्थायीकरण गरिने छ। यसरी नै विभिन्न विभागमा कार्यरत शारिरिकरूपमा असक्षम कर्मचारीहरूलाई पाँच वर्षमा स्थायी गरिने आज बसेको मन्त्री परिषदको बैठकले निर्णय लिएको छ। राज्यको विभिन्न पाठशालाहरूमा मध्यान्ह भोजन पकाउने महिलाहरूलाई पनि सरकारले प्रति महीना पाँच हजार गरेर प्रदान गर्ने निर्णय लिएको छ। नौकरीमा कार्यरत शिक्षकहरूको पदोन्नतीको निम्ति ३० प्रतिशत आरक्षण रहनेछ। प्रोवेशनरी शिक्षकहरूको नौकरीकालमा दुई वर्षसम्मको अनियमिता रहेको खण्डमा शिक्षा विभागद्वारा बनाइएको समितिको सिफारिसद्वारा मात्र तिनीहरूको स्थायीकरणको प्रक्रिया चल्नेछ। यसको साथै आजको बैठकले शिक्षा विभागलाई क्लस्टर रिसोर्स कोअर्डीनेटर अनि ब्लक रिसोर्स कोअर्डिनेटरको क्याडर बनाउने आदेश दिएको छ।