नीदरल्याण्ड विरुद्ध वनडे सीरीज क्लीन स्वीप गऱ्यो ईंग्ल्याण्डले

IMG-20220623-WA0120.jpg

२३ जूनः ओपनर जेसन रोय र लयमा रहने जोस बटलरको विध्वंशी ईनिंग्सको सहायताले ईंग्ल्याण्डले तेस्रो वनडे इण्टरनेशनल म्याचमा आयोजक नीदरल्याण्डलाई सजिलैसँग ८ विकेटले पराजित गऱ्यो। यसको साथै ईंग्ल्याण्डले तीनवटा म्याचको वनडे सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। दुर्बल डच टीमबाट प्राप्त भएको २४५ रनको लक्ष्यलाई पछ्याउँदै शक्तिशाली ईंग्ल्याण्डले ३०.१ ओभरमै २ विकेटमा २४८ रन बनाएर सजिलै जीत हासिल गऱ्यो। यसअघि पहिला ब्याटिंग गर्दै नीदरल्याण्ड ४९.२ ओभरमा २४४ रन बनाएर अलआउट भएको थियो। लक्ष्यलाई खेदो गर्दै ओपनर रोयले वनडे इण्टरनेशनलमा आफ्नो दशौं शतक बनाए। रोयले ८६ बल खेलेर १५ वटा चौकाको सहायताले अविजित १०१ रन बनाए। यसरी नै विपक्षी बलरहरूलाई दिनमै तारा देखाउने बटलरले ६४ बलमा ५ वटा छक्का र ७ वटा चौकाको सहायताले अविजित ८६ रन बनाए। यी दुईले तेस्रो विकेटको निम्ति २०.१ ओभरमा १६३ रनको अटूट साझेदारी गरी नीदरल्याण्डको चुनौतीलाई माटोमा मिलाए।

यसअघि रोयले साथी ओपनर फिल सल्ट (४९ रन)-सँग पहिलो विकेटको निम्ति ९.४ ओभरमा ८५ रनको साझेदारी गरी ईंग्ल्याण्डलाई असल शुरुवात दिलाए। सल्टले ३० बल खेलेर ९ वटा चौका लगाए। पछिबाट पल भ्यान मीकिरनले दशौं ओभरमा सल्ट र डाविड मलान (०)-लाई आउट गरी डच टीमको निम्ति आशा जगाए पनि रोय र बटलरले ईंग्ल्याण्डलाई जीत दिलाए।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने नीदरल्याण्डले असल शुरुवात गरे पनि अन्तिम दश ओभरमा लगातार विकेटको पतन हुँदा टीम २४४ रनमा अलआउट भयो। नीदरल्याण्डबाट कप्तान तथा विकेटकीपर स्कट एडवर्ड्सले ७२ बलमा सर्वाधिक ६४ रन (२ वटा चौका) बनाए। यसबाहेक बास डे लीडले ५६ र मेक्स ओ डोओडले ५० रनको योगदान दिए। यसमा लीडले ७८ बल खेलेर ३ वटा अनि डोओडले ६९ बल खेलेर ६ वटा चौका लगाए। अनुभवी टम कूपले ३७ बलमा ५ वटा चौकाको सहायताले ३३ रन बनाए। ईंग्ल्याण्डका पेस बलर डेविड विलीले अन्तिम ओभरहरूमा घातक बलिंग गर्दै ४ विकेट लिए जबकि ब्रेडोन कार्सले २ विकेट हासिल गरे।

यसबाहेक डेविड पायने, लियम लिविंगस्टोन र अदिल रशीदले १-१ विकेट बाँड़े। रोयलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *