कालचिनीः चियाबारी श्रमिकहरूको दैनिक रोज २३२ लाई १८ रुपियाँ थप वृद्धि गरेर जम्मा २५० रुपियाँ हाँजीरा बनाएको घोषणा राज्य सरकारको श्रम विभागले गरेता पनि यसलाई सहजै मान्न मालिकपक्षले अस्वीकार गर्दै यसको विरुद्ध मालिकपक्षले अदालतमा मुद्दा हालेको छ। अब यसले गर्दा चिया श्रमिकहरूको ज्याला वृद्धिको सुनवाई पनि भीरको चिन्डो हुने श्रमिकहरू आशङ्का व्यक्त गरेका छन्। यस्तै आशङ्का र मालिकपक्षको श्रमिक विरोधी नीतिको आलोचना गर्दै तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूको आह्वानमा बिहीबारदेखि चियाकमानमा गेटसभा शुरु भएको छ।
बिहीबार यस क्रममा कालचिनी खण्डको चुवापाड़ा चियाबारीमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईक बिहान प्रायः ७ बजी गेटसभाको निम्ति आईपुगेका थिए। जिल्ला सभापति प्रकास चीक बडाईकको उपस्थितिमा चुवापाड़ामा प्रायः १ घन्टाको गेटसभा पालन गरिएपछि सबै श्रमिकहरू आ-आफ्नो मेलामा गएको थियो। आगामी तीन दिनसम्म यो गेटसभा लगातार चल्ने तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले जनाएका छन्। प्रायः सबै चिया कमानहरूमा नै गेटसभा पालन गरिएको तृणमूल चियाबारी श्रमिक यूनियनका नेतृत्वहरूले जनाएका छन् भने रोज वृद्धिमा मालिकपक्षले गरेको असहयोगिता विरुद्ध आगामी २७ मईसम्म गेटसभा निरन्तर चल्ने र त्यसपछि यूनियनको केन्द्रिकृत फसेला अनुसार आन्दोलनको रुपरेखा तयार गरिने टीसीबीएसयूको केन्द्रिय नेतृत्वहरूले जानकारी गराएका छन्। आज यस क्रममा गेटसभा मेचपाड़ा, राधारानी, सेन्ट्रल डुवर्स, कालचिनी, राईमाटाङ, डिमा, भातखावा, राजाभात, भातखावा, अठियाबारी आदि चियाबारीहरूमा गेटसभा पालन गरिएको बताईएको छ।










