विद्यालयलाई जमीन प्रदान गर्ने जमीनदाताहरूलाई तीन वर्षमा स्थायीकरण गरिनेः मुख्यमन्त्री तामाङ

tea_612

गान्तोकः सिक्किम शिक्षक संघको पहलमा आज तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा शिक्षक सम्मान कार्यक्रम आयोजना गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि तथा शिक्षा विभाग मन्त्री केएन लेप्चा विशिष्ट अतिथिकोरूपमा रहेका थिए।

यस कार्यक्रममा २०२१ मा सेवानिवृत बनेका २६३ जना शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनाइयो। सोही क्रममा सिक्किम शिक्षक संघका पहिलो अध्यक्ष एवम् लोकसभा सांसद पहलमान सुब्बालाई पनि आयोजक समितिले उनको योगदानको कदर गर्दै सम्मान जनायो। यसरी कार्यक्रममा संघद्वारा प्रकाशित वार्षिक पत्रिका गुरू दर्पण र वर्ष २०२३ को क्यालेन्डरको पनि मुख्यमन्त्री तामाङले विमोचन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले शिक्षक सम्मान कार्यक्रम एसकेएम पार्टी सरकारमा आएपछि २०२० देखि शुरू गरिएको जानकारी गराए। उनले बताए अनुसार, समाजले शिक्षकवर्गलाई विश्वास गर्ने भएको कारण हरेक कुरामा शिक्षकवर्गलाई सामेल गराइन्छ। शिक्षकले समाज, राज्य र राष्ट्रलाई विकासको मार्गमा लैजाने विश्वास समाजले जहिले पनि गरेको हुँदा शिक्षकवर्गलाई अग्रपंक्तिमा राखेर समाजले हरेक कुराको पहल गर्दै आइरहेको मुख्यमन्त्रीले बताए।

वर्तमान सरकारले शिक्षकवर्गले कुनै पनि कुरामा मन नदुखावोस् भन्ने ध्येय राखेर शिक्षकहरूको हितमा विभिन्न प्रकारको नीति साथै योजना लागू गरेको जानकारी गराए। हिजो राजधानीस्थित चिन्तन भवनमा सम्पन्न भएको एक कार्यक्रमबीच विद्यालय निर्माणको निम्ति जमीन प्रदान गर्ने ८३ जना जमीनदाताहरूलाई स्थायी नौकरी प्रदान गरिएको आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले बताए। अबोप्रान्त जमीन दान गरेर सरकारी नौकरीमा अस्थायीरूपमा नियुक्त हुनेहरूलाई तीन वर्षमा स्थायीकरण गरिने उनले घोषणा गरे। विशेष गरेर राज्यमा अझ पनि धेरै वटा विद्यालयहरूको निर्माण गर्नुपर्ने भएकाले यस प्रकारको नीति कार्यान्वयन गरेको खण्डमा जमीनदाताहरू स्वेच्छाले अघि आउन सक्ने उनले सम्भावना व्यक्त गरे। उनले बताए अनुसार, हाल सिक्किम शिक्षक संघको माध्यमद्वारा शिक्षकवर्गको हितमा विभिन्न प्रकारको कल्याणकारी कार्यहरू भइरहेको छ। शिक्षकहरूले मात्र मनले काम गर्दै आइरहेका छन् भने कतिपय सरकारी कर्मचारीहरूले काम गर्नुपर्छ भन्ने भावना राखेर मात्र काम गरेको बताए।

शिक्षाको क्षेत्रमा सिक्किमले धेरै प्रगति गरेको किटान गर्दै उत्तरपूर्वी राज्यहरूमा शिक्षाको क्षेत्रमा सिक्किम पहिलो नम्बरमा रहेको र देशमा पाँचौ नम्बरमा आएको उनले जानकारी गराए। शिक्षकहरूलाई कुनै पनि राज्यको मेरूदण्डकोरूपमा मानिने गरेको उनले अवगत गराए। जबसम्म जनताले शिक्षक र शिक्षाको महत्वबारे बुझ्दैनन् तबसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने मुख्यमन्त्रीले बताए। यदि सरकारको संस्थान, सम्पत्ति र अनुशासन पालन गरेको खण्डमा राज्यमा शिक्षाको उन्नति स्वतः हुने उनको भनाइ रहेको छ। शिक्षकहरूको योगदान र उनीहरूलाई सम्मान गर्दै राज्य सरकारले ३० प्रतिशत शिक्षकहरूलाई पदोन्नति गरिने र ७० प्रतिशतमा नै नयाँ भर्ना गरिने जानकारी गराए। यस कार्यक्रम अर्को वर्षदेखि शिक्षा विभाग र सिक्किम शिक्षक संघको संयुक्त पहलमा आयोजना गरेर सरकारी कार्यक्रमकोरूपमा पालन गर्ने मुख्यमन्त्रीले थप घोषणा गरे। आजको यस कार्यक्रममा मन्त्री एमएन शेर्पा, विधायक जीटी ढुङ्गेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरू पनि उपस्थित रहेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement