यता-उता नहेर्दै पार्टीको काम गर्ने समय आएको छः अञ्जिता राजालिम

si-5

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत सदाममा आज एसकेएम पार्टीको समन्वय सभा सम्पन्न भयो। सो सभाको अध्यक्षता जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमले गरेकी थिइन्। उक्त सभा शुक्रबारे-सुन्तले र सदाम-रविटार जीपीयूका पञ्चायतगण र पार्टी कार्यकर्ताहरूलाई लिएर गरिएको थियो। सभा गर्नुको मुख्य उद्देश्य २०२४ को चुनाउमा पार्टीको सफलता सुनिश्चत गर्न तृणमूलस्तरमा पार्टीका उपलब्धीहरू जनतामा पुऱ्याउनु पर्ने र तृणमूलस्तरमा पार्टीलाई बलियो बनाउन पाइला चाल्नु पर्ने विषयमा चर्चा गर्नु रहेको बताइएको छ।

सभामा सम्बोधन गर्दै अध्यक्ष राजालिमले यता-उता नहेर्दै पार्टीको काम गर्ने समय आएको बताइन्। पार्टीका लागि आफ्नो तर्फबाट हुन सक्ने भूमिका पालन गर्ने उल्लेख गर्दै आफूले जिल्ला पञ्चायत चुनाउमा दिएका अस्सी प्रतिशत वचनहरू पूरा गरिसकेको उनले दाबी गरिन्। आफ्ना कार्यहरूलाई अघि बढाएर लैजान आफूलाई ग्राम पञ्चायत र जनताको सहयोग पर्ने बताउँदै उनले आफ्ना महत्त्वाकांक्षाहरू पूरा गर्न पार्टीमा नलागेको स्पष्ट पारिन्।

यसैगरी, सभामा पार्टीका उपाध्यक्ष तिलक बस्नेतले पार्टी कार्यकर्ताहरू पार्टीमा नयाँ-पुरानो नहुने र पार्टीले कार्यकर्ताहरूको योगदानको मात्र मुल्याङ्कन गर्ने गरेको बताए। उनले एसकेएम सरकारले राम्रो कार्यहरू गरिरहेकै कारण एसकेएम पार्टीले २०२४ को चुनाउ सजिलै जित्ने दाबी गरे। एसकेएम पार्टीले समावेशी राजनीति गरिरहेको बताउँदै उनले पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरूमा अनुशासन हुनुपर्ने कुरामा जोर दिए।

सभाको औचित्य विषय प्रकाश पार्दै सीएलसी अध्यक्ष दिलकुमारी छेत्रीले पार्टीका जिम्मावर कार्यकर्ता भएपछि पार्टीका लागि समस्या नभएर समाधान हुनुपर्ने बताइन्। चुनाउ आइरहेको कारण पार्टी कार्यकर्ताहरूले पार्टीलाई धेरै समय दिनुपर्ने उल्लेख गर्दै पार्टीलाई अघि बढाउन पार्टी कार्यकर्तामाँझ मतभेद हुनु हुँदैन भनिन्। पार्टीमा सदस्य ग्रहण गर्नुको महत्त्व विषय प्रकाश पार्दै उनले एसकेएम सरकारका उपलब्धीहरू विषय अवगत गराइन्।

सभामा वरिष्ठ पार्टी कार्यकर्ता एनबी प्रधान, स्थानीय पञ्चायत अध्यक्ष चन्द्रकला प्रधान आदिले पनि सम्बोधन गरेका थिए। सभामा जिल्ला पञ्चायत सदस्य नवमित लेप्चा, सीएलसी युवा समन्वयक सुरेन तामाङ, सल्लाकार पीबी गुरूङ आदिको पनि उपस्थिति रहेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement