शिक्षा विभागको पहलमा आउटरिच कार्यक्रम सम्पन्न

IMG-20230523-WA0244.jpg

शिक्षाले विकसित समाज साथै राज्यको निर्माण गर्छः मुख्यमन्त्री तामाङ

गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज शिक्षा विभागको पहलमा आउटरिच कार्यक्रमको सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने विशिष्ट अतिथिमा शिक्षा विभागीय मन्त्री कुङ्गा निमा लेप्चा रहेका थिए। यस अवसरमा मुख्यमन्त्रीको बाहुलीबाट राज्यका विभिन्न स्थानमा विद्यालय नर्माणको निम्ति जमीनदान गर्ने ६६ जना जमीनदाताहरूलाई अस्थायी नौकरीको आदेश पत्र प्रदान गरे। सोही प्रकारले लामो समयदेखि शिक्षाको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका शिक्षा विभाग अन्तर्गत कार्यरत ४३७ प्रोवेशनरी शिक्षकहरूलाई पनि स्थायीकरणको आदेश पत्र प्रदान गरियो। आज नै मुख्यमन्त्री तामाङले राज्यको प्रत्येक स्कूलका महिला विद्यार्थीहरूलाई सेनीटेरी नेपकिन उपलब्ध गराउनहेतु शुरु गरिएको बहिनी योजनाको पनि आधिकारिकरूपमा शुभारम्भ गरे भने राज्यको विभिन्न स्थानमा निर्मित ७३ वटा विद्यालय भवनहरूको पनि मुख्यमन्त्रीले भर्चुअलरुपमा उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले शिक्षाले नै विकसित समाज अनि राज्यको निर्माण गर्ने हुँदा शिक्षासँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू महत्वपूर्ण रहेको बताए। राज्यको प्रत्येक शिक्षकहरूको योगदानको कारण नै अहिले शिक्षाको क्षेत्रमा देशको सानो राज्यहरूमा सिक्किम एक नम्बरमा आउन सफल बनेको बताए। देशको राजधानी साथै अन्य राज्यहरू जाँदा जहिल्यै आफ्नो शिर उच्च हुने गरेको मुख्यमन्त्री तामाङले बताए। यो गर्वनुभुती दिलाउने सम्पूर्ण राज्यका शिक्षक शिक्षिकाहरूलाई मुख्यमन्त्री तामाङले बधाई अनि धन्यवाद दिए। राज्यको शिक्षा प्रणालीलाई अझ उच्चकोटीको बनाउनको निमित्त सबैले एकसाथ मिलेर कार्य गर्ने मुख्यमन्त्री तामाङले सबैलाई आह्वान गरे। नीजि पाठशालाहरूको तुलनामा सरकारी पाठशालाहरूले त्यति उन्नति गर्न नसकेको कुरामा मुख्यमन्त्री तामाङले चिन्ता व्यक्त गर्दै यसको निम्ति सबैले आ-आफ्नो विचार अनि योजनाहरू पनि सरकारलाई दिने आग्रह गरे। शिक्षाको क्षेत्रलाई अझ मजबुत बनाउनको निम्ति सरकारले धेरै कार्यक्रमहरू गरिरहेको उनले सबैलाई अवगत गराए। निरन्तर रुपमा शिक्षकहरूलाई प्रशिक्षण दिने कार्य साथै पूर्वाधारहरूको निर्माण अनि शिक्षा सम्बन्धित सामग्रीहरू पनि उपलब्ध गराइरहेको मुख्यमन्त्री तामाङले अवगत गराए। शिक्षा व्यवस्थालाई पटरीमा फर्काइल्याउने कार्य अनुरुप प्रोवेशनरी शिक्षकहरूलाई स्थायीकरण गर्नको निम्ति सरकारले बनाएको योजनाद्वारा लामो समयदेखि ठगिएका शिक्षकहरूले न्याय पाएको मुख्यमन्त्री किटान गरे। यती मात्र होइन सहायक प्राध्यापकहरूको लम्बीत मागलाई पनि वर्तमान सरकारले सम्बोधन गर्के उनले बताए। सरकारले शिक्षाको क्षेत्रमा कार्य गरिरहेको समय शिक्षक-शिक्षिका अनि शिक्षा विभागमा कार्यरत सबैले पनि आफ्नो उत्कृष्ट दिने उनले आदेश दिए। केही पनि शिक्षक शिक्षिकाहरू कुनै पनि प्रकारको समस्या लिएर मुख्यालय आइपुग्दा तिनीहरूलाई कुनै पनि प्रकारको असुविधा नदिइ कर्मचारी अनि अधिकारीहरूले काम फत्ते गरिदिनुपर्ने मुख्यमन्त्री तामाङले बताए। यसको साथै सबै शिक्षक शिक्षिकाहरूले सुदुर गाउँदेखी शहरसम्म एउटा उदाहरण नै पेश गर्ने पनि उनले आग्रह गरे।

आजको कार्यक्रमअवधि मुख्यमन्त्री तामाङले केही मुख्य घोषणा गरे। भूमि दानगर्नेहरू जसलाई आज अस्थायी नौकरीको आदेश पत्र प्रदान गरियो उनीहरूको स्थायीकरण तीन वर्षमा गरिने यसको साथै प्रत्येक प्राथमिक पाठशालाहरूमा प्रति महिना ५ हजार गरेर मीड डे मील पकाउने कर्मचारीहरूको नियुक्ति गरिने उनले घोषणा गरे। यसको साथै यो वर्ष राज्यको प्रत्येक पाठशालाहरूको रङ्ग गर्ने साथै पुर्ननिर्माण गर्ने पनि उनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement