खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्नु लगाएको विषयमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर चिया गाछहरू उखेल्नु लगाउनु भनेको गोर्खाहरूको अस्तित्व पहाड़मा खतरा रहेको बताएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, सिलिमहिल चियाबारीको लोवर डिभिजनमा चिया गाछहरू उखेल्नु लगाएको विषयलाई सम्पूर्ण पहाड़कै जनताले बुझ्नुपर्छ। किनभने चिया गाछहरू उखेल्नु भनेको गोर्खाहरूको अस्तित्वलाई खतरामा पार्नु जस्तै हो। हामी भारतीय गोर्खाहरूको अस्तित्व चियाबारीसित सम्बन्धित छ। तर अहिले पहाड़मा क्षेत्रीय राजनैतिक पार्टीहरूका आढ़मा गोर्खाको अस्तित्व खतरामा पारिएको छ। त्यसैले यो चिया गाछहरू उखेल्नु मात्रै होइन तर गोर्खाहरूको अस्तित्व उखेल्नु जस्तै हो। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अघि भने, अहिले गोर्खाहरूलाई मास्ने षड़यन्त्र भईरहेको छ। यो कुरा सिलिम हिलको नयाँ कमानले मात्र होइन तर सम्पूर्ण पहाड़का गोर्खाहरूले बुझ्नु पर्ने समय आएको छ। किनभने अहिले नयाँ कमानमा यो भईरहेको छ जुन अरुतिर पनि हुनसक्छ। त्यसैले सबैले बुझेर समयमै बुध्दि पूर्याउनु पर्ने हुन्छ। उनले अझ भने, अहिले बगानतिर रिसर्टहरू बनाउने काम भईरहेको छ जसले गर्दा कमानको अस्तित्व पनि खतरामा पुगेको छ। यो समय सबैले श्रनिकहरूलाई सहयोग गर्नु पर्ने हो। पहाड़मा चियाबारी छैन भने सबै डामाडोल भएर जान्छ अनि चियाबारीमाथि निर्भर रहनेहरू थुप्रै छन्। अब बगानतिर सबैले आफै चियापत्ती बनाउनेपट्टि लाग्नुपर्छ।