२३ मईः इटालियन सेरि ए फूटबलमा युभेण्टसको निम्ति सोमवारको दिन चरम निराशाजनक रह्यो। पहिलो १० पोइण्ट्सको जरिमाना लागेपछि टीमले दिनको अन्तमा एम्पोली विरुद्ध पनि ४-१-ले हारको सामना गर्नु पऱ्यो। यसरी दोहोरो धक्काले युभेण्टसको आउँदो सीजनमा च्याम्पियन्स लीग खेल्ने सम्भावना पनि धमिलो भयो। दिनको शुरुवातमा युभेण्टसमाथि एकाउण्ट (खाता)-मा गड़बड़ीले गर्दा सेरि ए-ले १० पोइण्ट्सको जरिमाना लगायो। त्यसपछि राति खेलिएको म्याचमा हारको सम्मुखीन भएपछि युभेण्टस सेरि ए टेबलमा दोस्रो स्थानबाट झरेर सिधै सातौं स्थानमा पुग्यो।

युभेण्टसलाई अब कुनै चमत्कारले मात्र च्याम्पियन्स लीगको निम्ति क्वालीफाई गराउन सक्नेछ। टीम अहिले चौथो स्थानमा रहने एसी मिलानभन्दा ५ पोइण्ट पछि रहेको छ अनि हातमा केवल दुईवटा म्याच रहेको छ। पोइण्ट्सको जरिमाना विरुद्ध युभेण्टसले अपील चाहिँ गर्न सक्नेछ। आफ्नो होम ग्राउण्डमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने एम्पोलीबाट फ्रान्सेस्को कापुटोले १८औं र ४७औं मिनटमा २ गोल गरे। यसबाहेक सेबास्टियानो लुपेर्तोले २१औं र रोबर्तो पिक्कोलीले स्टपेज टाइममा गोल गरे।

यसरी युभेण्टसबाट फेडेरिको चिएसाले ८५औं मिनटमा गोल गरे। युभेण्टससँग अहिले ३६ वटा म्याचमा ५९ पोइण्ट्स रहेको छ। यसरी १४औं स्थानमा रहने एम्पोलीसँग ४२ पोइण्ट्स छ। दिनको अन्य एउटा म्याचमा रोमालाई सालेरनिटानाले २-२-को ड्र-मा रोक्यो।










