द्रौपदी मुर्मूको राष्ट्रपति उम्मेद्वारिताप्रति भाजपा सिक्किमद्वारा स्वागत

IMG-20220622-WA0166.jpg

गान्तोक। आगामी १८ जुलाई, २०२२ को दिन हुन गइरहेको राष्ट्रपति चुनाउलाई लिएर भारतीय जनता पार्टी नेतृत्वाधीन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले झारखण्डकी पूर्व राज्यपाल द्रौपदी मुर्मूलाई आफ्नो उम्मेद्वार घोषित गरेको छ। भारतीय जनता पार्टी, सिक्किम अनि भाजपा विधायक दलको तर्फबाट द्रौपदी मुर्मूलाई राष्ट्रपति उम्मेद्वार चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै राष्ट्रपति चुनाउमा जीतको शुभकामना व्यक्त गर्दछ।

भारतीय जनता पार्टीले आफ्नो शासनकालमा अहिलेसम्म तीनपटक राष्ट्रपति चुनाउको निम्ति उम्मेद्वार नामाङ्कित गरेको छ भने तीनैपटक देशको पछिल्लो वर्गलाई विशेष सम्मान र गौरव प्रदान गर्दै आएको छ। यस अघि वर्ष २००२ मा अल्पसंख्यक समुदायबाट स्व. एपीजे अब्दुल कलाम, २०१७ मा दलित समुदायबाट श्री रामनाथ कोविन्द अनि यसपटक आदिवासी जनजातीय समुदायबाट श्रीमती द्रौपदी मुर्मूको नाम चयनित गरेर सबै वर्ग-समुदायलाई प्रतिनिधित्व प्रदान गर्दै देशको सर्वोच्च पदमा आसीन गराउने दिशामा अग्रसर बनेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सर्वसमावेशी सोच अनि भारतीय जनता पार्टीको सबैका साथ, सबैका विकास, सबैका विश्वास अनि सबैका प्रयासको नारालाई व्यवहारमा उतार्दै आज समाजको पछिल्लो वर्गलाई पनि देशको सर्वोच्च आसनसम्म पुऱ्याउने जमर्को गरेको छ। पार्टीको यस कदमले आज देशको आदिवासी एवं जनजातीय समुदाय साथै महिला वर्गलाई सम्मान दिँदै उनीहरूको प्रतिनिधित्व देशको सर्वोच्च पद सुनिश्चित गर्ने काम गरेको छ। यस प्रकारको समावेशी सोचको निम्ति भाजपा सिक्किम सम्पूर्ण सिक्किमे अनुसूचित जनजाति एवं महिलाहरू अनि जन-जनको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी एवं गृहमन्त्री श्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह अनि भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाप्रति हार्दिक आभार एवं अभिनन्दन व्यक्त गर्दै आगामी राष्ट्रपति चुनाउमा एनडीए उम्मेद्वारले रेकर्ड मतान्तरले विजय हासिल गर्ने पूर्ण विस्वास राख्दछ। यसका साथै द्रौपदी मुर्मूको उम्मेद्वारितालाई एनडीए घटक दलको नातामा सिक्किम क्रान्तिकारी मोर्चाले पनि सहर्ष स्वीकार गर्दै आफ्नो समर्थन दिएकोमा भाजपा सिक्किम एसकेएम पार्टी तथा एसकेएम विधायक दलप्रति आभार व्यक्त गर्दछ।
उल्लेख्य, स्वतन्त्र भारतको ७५ वर्षको इतिहासमा पहिलोपल्ट एकजना जनजातीय महिलालाई राष्ट्रपतिको उम्मेद्वारको निम्ति एक सत्तारूढ़ गठबन्धनद्वारा नामाङ्कित गरिएको छ। द्रौपदी मुर्मु ओडिशा राज्यको एक जनजातीय परिवारबाट रहेकी छन् भने उनले यस अघि विभिन्न जिम्मेवारपूर्ण पदहरूलाई कुशलताका साथ निर्वहन गरिसकेकी छन्। उनले १९७९ देखि १९८३ सम्म ओडिशा सरकारको बिजुली विभागमा जुनियर एसिस्टेन्टको रूपमा कार्य गरेकी थिइन् भने १९९४ देखि १९९७ सम्म श्री अरबिन्दो इंटीग्रल एजुकेशन सेन्टर, रायरंगपुरमा शिक्षकको रूपमा कार्यरत रहिन्। यसपछि २००० देखि २००४ सम्म ओडिशा सरकारमा राज्यमन्त्री (स्वतन्त्र प्रभार) तथा २००२ देखि भारतीय जनता पार्टीको अनुसूचित जाति मोर्चाको सांगठनिक जिम्मेवारीमा रहेकी थिइन्। उनलाई २००७ मा ओडिशा विधानसभाद्वारा सर्वश्रेष्ठ विधायकको निम्ति नीलकण्ठ पुरस्कारले सम्मानित गरिएको थियो। उनले वर्ष २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपालको रूपमा सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरिसकेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement