कोलकाता: राज्य मन्त्री परिषदको बैठक सोमबार राज्य सचिवालय नबान्नमा मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सम्पन्न भयो। यस बैठकमा कोलकाताको एसएसकेएम अस्पतालले टाटासित मिलेर क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ। सन् २०२१ मा तेस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएको एक महिना भित्र, मुख्यमन्त्री ममता ब्यानर्जीले एसएसकेएम अस्पतालले टाटासँग क्यान्सर अस्पताल निर्माण गर्न सहयोग गर्ने घोषणा गरेकी थिइन्। सोमबार बसेको मन्त्री परिषद्को बैठकले सो विषयमा अनुमोदन गरेको छ। मुख्यमन्त्रीले यस राज्यका २५ प्रतिशत मानिस क्यान्सरको उपचारका लागि मुम्बईको अस्पताल जाने गरेको बताइन्। यसैलाई ध्यानमा राखेर राज्य सरकारले यो योजना बनाएको हो। स्रोतका अनुसार त्यसबेलादेखि राज्य सरकारले यस दिशामा कडाइका साथ पहल गरिरहेको थियो। उत्तर बङ्गालमा दुई छुट्टाछुट्टै क्यान्सर अस्पताल बनाउने कुरा पनि भएको थियो, यद्यपि यसबारेमा केही स्पष्ट छैन। राज्यका निजी तथा सरकारी अस्पतालमा क्यान्सरको उपचार गरिन्छ। यसबाहेक, हाजराको चित्तरञ्जन क्यान्सर अस्पताल केन्द्र र राज्य सरकारको संयुक्त पहल हो।