२३ मईः आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनल अघि भारतीय टीमको निम्ति समस्या बढ़ेको छ। वास्तवमा टेस्ट क्रिकेटमा टीम इण्डियालाई बारम्बार चेपारोमा पार्ने अष्ट्रेलियाई पेस बलर जोश हेजलवुड सम्पूर्ण रूपले फिट भएका छन्। क्रिकेट अष्ट्रेलिया (सीए)-ले अनुभवी पेस बलर हेडलवुड भारत विरुद्ध आउँदो डब्ल्यूटीसी फाइनल र चीरप्रतिद्वन्द्वी ईंग्ल्याण्ड विरुद्ध एशेज सीरीजको निम्ति फिट अनि उपलब्ध रहेको जानकारी दियो। डब्ल्यूटीसी फाइनल ७-देखि ११ जूनसम्म लण्डनको ओवल मैदानमा खेलिनेछ। त्यसपछि अष्ट्रेलियाई टीमले १६ जूनदेखि ३१ जुलाईसम्म पाँचवटा टेस्ट म्याचको एशेज सीरीज खेल्नेछ। इण्डियन प्रीमियर लीगमा रोयल च्यालेञ्जर्स बेंगलोरबाट खेल्दै मामूली चोट लागेपछि हेजलवुड दुई हप्ता अघि स्वदेश फर्किएका थिए। यसपाली क्रिकेट अष्ट्रेलियाले ३२ वर्षीय पेस बलर ईंग्ल्याण्ड जान फिट रहेको जानकारी दियो। क्रिकेट अष्ट्रेलियाका प्रवक्ताले भने, जोश हेजलवुडले हालै आईपीएल म्याचको अवधि खुट्टामा मामूली यन्त्रणा अनुभव गरेका थिए। यसैकारण उनी स्वदेश फर्किएका थिए। एउटा संक्षिप्त विश्रामपछि हेजलवुडले गत हप्ता अभ्यास शुरु गरेका थिए। डब्ल्यूटीसी र एशेज सीरीजलाई ध्यानमा राखेर हामी अलि-अलि गर्दै उऩको बलिंग कार्यभारलाई बढ़ाउनेछौं। हेजलवुड डब्ल्यूटीसी र एशेज सीरीजको निम्ति फिट र उपलब्ध छन्। उल्लेखनीय छ, टेस्ट क्रिकेटमा हेजलवुडको भारत विरुद्ध असाधारण रेकर्ड रहेको छ। उनले ५९ वटा टेस्ट म्याचमा २२२ विकेट हासिल गरेका छन्। यसमा उनले भारत विरुद्ध १५ वटा टेस्ट खेलेर ५१ विकेट हासिल गरेका छन्। उनले भारत विरुद्ध ४ पल्ट ईनिंग्समा ५ या त्यसभन्दा अधिक विकेट लिने काम पनि गरेका छन्। यसैकारण हेजलवुडको आगमनले डब्ल्यूटीसी फाइनलमा भारतीय टीमको समस्या अवश्यै बढ़्नेछ।