बिरपाडा: डुवर्स नेपाली साहित्य सभा तथा शान्ता प्रकाशनको संयुक्त आयोजनामा आइतबार चारवटा पुस्तकहरुको विमोचन साथै पुरस्कार अलंकरण समारोह भव्यतासंग सम्पन्न भयो। दुई सत्रमा बाँढिएको कार्यक्रमको अध्यक्षता डुनेसासका अध्यक्ष देवेन विश्वकर्माले गर्नु भएको थियो भने डुनेसासका मूलसचिव किरण उपाध्यायले स्वागत भाषण राखेl गीतकार कवि गणेश गजमेरको ‘मादल सम्हाल’ गीत संग्रह र ‘आमा र कोठेबारी’ कविता संग्रह साथै डुवर्सका युवाकवि सम्पादक किरण उपाध्यायको ‘डुवर्स तिमी’ पहिलो कविता संग्रहको दोस्रो संस्करण लगायत सम्पादकद्वय किरण उपाध्याय र उमेश प्रधानको सम्पादनमा ‘कुञ्चिका’ पत्रिकाको दोस्रो अंक यी चारवटा किताबहरुको एकसाथ विमोचन प्रमुख अतिथि असम नेपाली साहित्य सभाबाट रुद्र बराल, विशिष्ट र अन्य अतिथिहरु क्रमैले कवि साथै विधायक बी पी बाजगाईँ, वरिष्ठ संगीतकार डा. शरद सिन्हा, डा. सुमन निरौला, वरिष्ठ संगीतकार जीवन अधिकारी, डा.जीवन राणा, गीतकार साथै बालकवि वेग वसन्त थापा, डुनेसाविसका पुर्व अध्यक्ष सितम मोक्तान, कप्तान खगेन्द्र शर्मा, समालोचक मन नारायण प्रधान, सेन्ट्ल मोडल स्कूलको प्रिन्सिपल सुश्री दुर्गा गुरुङ, समाजसेवी अनुप कुमार शर्मा, नकुल सुनार, असमबाट आउनु भएका कवि मुक्तककारद्वय ज्योति हुमागाईँ, अमित आधिकारी, मिनिल्याण्ड इंग्लिश स्कुलका प्रिन्सिपल विनोद मोक्तान,समाजसेवी जुगेश राई,समालोचक देवराज शर्मा, रुपेश शर्मा,साहित्यकार कृष्ण योञ्जन गडबडे,कथाकार प्रकाश हाङखिम, भगतराम विद्यापीठका प्रिन्सिपल जे पी शर्मा, प्रभात खरेल,शिक्षक अभिषेक छेत्री, डुनेसासका आजीवन सदस्य शिक्षक सुभाष छेत्री आदि लगायत सृजनशील समूल कालचिनी, नेपाली साहित्य प्रतिष्ठान,डुवर्स गोर्खा संरक्षण संघ, डुवर्स नेपाली साहित्य विकास समिति, हाम्रो समाज,चन्द्रवीर प्रधान पुस्तकालय, मंगलमाइती बिरपाडा, स्वराज सोसाइटी,शहीद दुर्गा मल्ल सालिक निर्माण समिति लंकापाडा संगिनी उपसंघ, टिप्पर अनर्स एसोसिएशन आदि संघ संस्थाहरुका सदस्यहरु लगायत भाषा प्रेमी साहित्य प्रेमी साहित्यानुरागी आदिहरुको गरिमामय उपस्थितिमा भानुनगर स्थित थोमस भिल्लामा ऐतिहासिक अनि भव्यताले सम्पन्न भयो। साहित्य चौतारीको २०औँ प्रकरणमा कवि सुदर्शन तामङ, निरज थापा, प्रकाशचन्द्र शर्मा, एस पी शर्मा, दुर्गा चामलिङ राई आदिले कविता वाचन गरे भने श्रीमती अर्बिना योञ्जनको अगुवाईमा संगिनी उपसंघद्वारा सुन्दर साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। समालोचक देवराज शर्माले कुञ्चिका एकदमै स्तरीय र जर्नलको रुप लिएको कुरा पुस्तक समिक्षामा बताए भने कथाकार अबीर खालिङले मादल सम्हालर आमा र कोठेबारीबारे भुमिका प्रस्तुत गरेका थिए। कवि किरण उपाध्यायले पहिल्यै डुवर्स तिमीको दोस्रो संस्करण निकाल्ने औचित्य खुलस्त पारेका थिए। डुवर्स नेपाली साहित्य सभाद्वारा प्रदान गरिएको पहिलो कृष्णभक्त खडका स्मृति पुरस्कार वयोवृद्ध साहित्यकार कृष्ण योञ्जन गडबडेलाई र पहिलो इन्द्र बहादुर गुरुङ स्मृति युवा साहित्य पुरस्कार कालचिनीका युवाकवि चन्दन भट्टराईलाई सम्मान पत्र, मेमेन्टोसहित र पुरस्कार राशी प्रदान गरियो। यस कार्यक्रममा वरिष्ठ साहित्यकार श्री बिष्णु प्रसाद गौतमलाई सम्बर्धना पनि जनाइयो। साहित्यकार रुद्र बरालले समालोचकहरुलाई डुवर्स र असमको साहित्यको तुल्नात्मक अध्ययन र समोलोचना गरिदिने आह्वान पनि गरे। विधायक कवि बी पी बजगाईँले पनि डुनेसासको साहित्यिक र सामाजिक गतिविधिले डुवर्सले साँचो न्याय र भरपर्दो टेवा पाएको भने। डुनेसासका पुर्व अध्यक्ष दिलीप शर्मा घिमिरेले सुन्दर ढंगमा संचालन गरेको कार्यक्रममा गायक डा. सुमन निरौलाले मिठो गीतहरु प्रस्तुत गरे। कवि गीतकारद्वय वेग वसन्त थापा र गणेश गजमेरले कार्यक्रम आयोजक डुनेसास, प्रकाशक शान्ता प्रकाशन र चित्रकार सन्जोग लामालाई सम्मान जनाए भने शान्ता प्रकाशनको तर्फबाट हाम्रो भान्साघर टोलीलाई उनीहरुको उच्च कोटीको भान्सा सेवाको निम्ति सम्मान जनाइएको थियो। कार्यक्रमको अन्तमा सभाध्यक्ष देवेन विश्वकर्माले कार्यक्रम भव्य, ऐतिहासिक भयो भन्दै कार्यक्रम सफल सफल भएकोमा सबै सबैलाई आभार प्रकट गरेका छन् भने शान्ता प्रकाशनको तर्फबाट उमेश प्रधान सबैलाई विशेष धन्यवाद जनाएका छन्।










