गान्तोक। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले ३०औं सम्पूर्ण क्रान्ति दिवस मनायो। इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा पालन गरिएको सम्पूर्ण क्रान्ति दिवस कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथि थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एसडीएफ अध्यक्ष चामलिङले वर्तमान एसकेएम सरकारमाथि निकै खनिए। उनले एसडीएफ सरकारमा भएका विकासका कार्यहरू, शासन र प्रशासनमाथि प्रकाश पार्दै एसकेएम सरकारका कार्यविधिमाथि प्रश्न तेर्साए। उनले एसडीएफ कार्यकर्ताहरूमाथि मनगढ़न्त र अनर्गल आरोपहरू लगाएर षड़यन्त्रपूर्वक थानामा हाल्ने काम भइरहेको आरोप लगाए। उनले एसडीएफलाई कमजोर बनाउन यसरी दबाउ दिने काम भइरहेको छ भनी बताए।
पूर्व मुख्यमन्त्री चामलिङले पुलिसको कामकाजमाथि पनि औंला उठाए। उनले पुलिस थानाहरूले एसकेएम पार्टीको कार्यालय सरह काम गरिरहेको गम्भीर आरोप लगाए। उनले भने, पुलिसले वर्दी मात्र लगाएका छन्, तर कानून चलाउनेहरू सबै एसकेएम कार्यकर्ताहरू छन्। उनले राज्यका जनता वर्तमानको अराजक स्थितिबाट मुक्तिका लागि एसडीएफ पार्टीलाई अनुरोध गरिरहेको दाबी गरे।
२५ वर्षसम्म एसडीएफले आफ्नो विचारको आधारमा काम गरेको बताउॅंदै आफुहरूले गरेको क्रान्तिकै कारण आज सिक्किम यस्तो भएको छ भनी बताए। वर्तमान सरकारले पनि आफ्नै विचारमा काम गरिरहेको छ भन्दै चामलिङले भने, वर्तमानमा सिक्किमका ९९ प्रतिशत जनताको ज्यानमालको सुरक्षा छैन। केवल एक प्रतिशत मान्छे सुरक्षित छन्। सरकारको टीममा हुने जनता सुरक्षित छन्। उनले राज्यवासीहरूलाई यदि आफुहरूमाथि अन्याय भइरहेको छ जस्तो लाग्छ भने एकजुट बनेर आवाज उठाउन आह्वान पनि गरे।
यस अतिरिक्त, उनले वर्तमान सरकारमाथि सिक्किमे जनताका हक अनि अधिकारहरू असुरक्षित जनाएको आरोप लगाए। उनले एसकेएम सरकारमाथि बाहिरका मालिकहरूको एजेन्ट बनेर काम गरिरहेको आरोप पनि लगाए।
कार्यक्रमलाई एसडीएफका वरिष्ठ नेता केएन राई तथा अन्य कार्यकर्ताहरूले पनि सम्बोधन गरेका थिए। अध्यक्ष चामलिङको बाहुलीद्वारा पार्टीमा उल्लेखनीय योगदान दिने कार्यकर्ताहरूलाई सम्मानित गरिएको थियो।