गान्तोकः केन्द्रिय अल्पसंख्यक मामिला राज्यमन्त्री जोन बारलाले आज अपराह्न भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यालयको भ्रमण गरे। उनको आगमनमा पार्टी अध्यक्ष डीआर थापालगायतका पदाधिकारीहरूले भव्य स्वागत जनाएका थिए। मन्त्री बारला तीन दिवसीय सिक्किम भ्रमणमा रहेका छन् भने उनीसित कालचिनीका भाजपा विधायक विशाल लामा पनि सिक्किम आएका छन्।
पार्टी कार्यकर्ताहरूसित आफ्नो छोटो अन्तरक्रियामा मन्त्री जोन बारलाले केन्द्र सरकारको अल्पसंख्यक मामिला मन्त्रालयको प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत सिक्किमको अल्पसंख्यक बहुल क्षेत्रहरूमा सयौंको संख्यामा विकासीय परियोजनाहरू चलिरहेको बताउँदै सिङ्तामनजिक निर्माणाधीन ३०० बेडेड अस्पताल यसको एउटा उदाहरण रहेको बताए।
यस अतिरिक्त सोरेङमा जिल्ला अस्पताल, विभिन्न प्राथमिक चिकित्सा केन्द्र, आवासीय विद्यालय, होस्टल सुविधा, स्कूल भवन, खेल मैदान, मंगनमा पोलिटेक्निक कलेज, लगभग ३०० वटा स्कूलमा स्मार्ट क्लास, विभिन्न सामुदायिक पूर्वाधारहरू पीएमजेभीके अन्तर्गत लगभग ५०० करोड़को लागतमा विकसित भइरहेको अवगत गराए।
मन्त्री बारलाले यी सबै विषयहरूलाई आगामी महिनाव्यापी जनसम्पर्क अभियानमा सिक्किमे जन-जनसम्म पुऱ्याउन सबै कार्यकर्ताहरूलाई आह्वान गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
-हिस










