कथाकार अबिर खालिङलाई डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारका लागि छनोट, डुवर्समा खुशीको लहर

9a0cbee9-9a44-43e7-8794-f42607b33f21

 

मालबजारः यस पटक २६औं डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार डुवर्सका कालचिनी निवासी कथाकार अबिर खालिङलाई प्रदान गरिने भएको छ। यो पुरस्कार २०२३ को लागि छनोट गरिएको छ। तिनलाई यो पुरस्कार ४ जुलाई सिक्किमको गान्तोकमा प्रदान गरिने छ। डा शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्ट, गान्तोक, सिक्किमले यो पुरस्कार प्रत्येक वर्ष जुलाई ४ मा डा. शोभाकान्तिको जन्मजयन्तीमा प्रदान गरिन्छ। कथाकार अबिर खालिङलाई सन् २०१९ मा प्रकाशित उनको कथा संग्रह “दार्जिलिङ मेटामर्फोसिस” को लागि २६औँ डा शोभाकान्ति थेगिम स्मृति पुरस्कारका लागि चयन समितिले छनोट गरेको छ। स्वर्गीय डा. शोभाकान्ति थेगिमको जन्मजयन्तीको अवसरमा प्रदान गरिने यस साहित्यिक पुरस्कारको स्वरुप रु पचास हजार नगद, ताम्रपत्र, प्रमाणपत्र प्रदान गरिनेछ। डुवर्सको कालचिनी निवासी तथा शंकर नेपाली उच्च माध्यमिक विद्यालयका सहशिक्षक अबिर खालिङ डुवर्स नेपाली साहित्य विकास समितिका उपाध्यक्ष पनि हुन्। कथाकार खालिङलाई पुरस्कृति गरिने खबरले डुवर्सका साहित्यप्रेमी तथा डुवर्स नेपाली साहित्य विकास समितिका पदाधिकारीहरू अत्यन्तै खुसी छन् र उहाँलाई यसको निम्ति बधाई तथा शुभकामना दिइरहेका छन्। डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्ण श्रेष्ठले खालिङ नेपाली साहित्यका विशिष्ट कथाकार हुन्। नेपाली साहित्यमा उनको छुट्टै पहिचान छ। उहाँलाई सिक्किम राज्यमा डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार प्रदान गरिने खबरले हामी धेरै खुसी र उत्साहित छौं। समालोचक रुपेश शर्माले भने, नेपाली साहित्यमा कथाकार अबिर खालिङलाई उचित मूल्याङ्कन गर्दै पुरस्कारद्वारा सम्मानित गर्नु गौरवको कुरा हो। डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवासले साहित्यकार तथा कथाकारका रुपमा परिचित अबिर खालिङलाई डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार प्रदान गर्ने खबरले धेरै खुशी छौँ। कथाकार अबिर खालिङले शुभकामना र बधाई दिनुहुने शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। तिनले पुरस्कार त आदेश न हो। आफ्नो साहित्यिक सेवालाई निरन्तरता दिँदै साहित्यको सेवामा लाग्नेछु भने।

About Author

Advertisement