खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीवासीले एक भएर आफ्नो जमीनको पर्जापट्टाको निम्ति खरसाङ भूमि तथा भूमि सुधार कार्यालयलाई आवेदन बुझाएका छन्। रोहिणीवासीले यस अघि पनि धेरैचोटि सम्बन्धित विभागलाई आवेदन बुझाएकै हुन्। तर आजसम्म पनि जमीनको पर्जापट्टा नपाएपछि आज पुनः एकचोटि खरसाङ खण्ड भूमि एंव भूमि सुधार कार्यालयमा आएर सामूहिक आवेदन बुझाएका छन्। रोहिणी ल्याण्ड राइट्स मञ्चका प्रतिनिधिहरूले आज यस सन्द्रर्भमा खरसाङ खण्ड भूमि एवं भूमि सुधार कार्यालयमा आएर विभागीय अधिकारी डिकी शेर्पासँग भेट गरे। उनीहरूले शेर्पालाई रोहिणीवासीले आफ्नो जमीनको पर्जापट्टाको निम्ति विगत धेरै वर्षदेखि सङ्घर्ष गरिरहे तापनि आजसम्म यस दिशामा न्याय नपाएको अवगत गराए। उनीहरूले आफ्नो जमीनको आवश्यक सबै दस्तावेजहरू सम्बन्धित विभाग लगायत क्षेत्रीयदेखि लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, दार्जीलिङ जिल्लापाल, खरसाङ खण्ड विकास अधिकारी, जीटीए चिफ्, विधायक, सांसद सबैलाई बुझाइसके तापनि आजसम्म जमीनको पर्जापट्टा नपाएको अवगत गराउँदै विभागीय पक्षबाट पुनः एकचोटि यस दिशामा पहल गरिदिने आग्रह गरेका छन्। यता विभागीय अधिकारी डिकी शेर्पाले पनि सबैको आवेदन जमा भइसकेपछि विभागीय पक्षबाट सर्भेको निम्ति पठाइने औ आफ्नो पक्षबाट आवश्यक पहल गरिदिने आश्वासन दिइन्। उनले यसै अवधि रोहिणी ल्याण्ड राइट्स मञ्चका प्रतिनिधि अनि उपस्थित रोहिणीवासीलाई विभागीय केही नियम र कानून सम्बन्धी पनि जानकारी दिइन्। विभागीय अधिकारीसँग भेट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै रोहिणी ल्याण्ड राइट्स मञ्चको पक्षबाट सचिन खातीले रोहिणीको जमीनको सम्बन्धमा धेरैचोटि राज्य स्तरीय मन्त्रीहरू, मुख्यमन्त्री लगायत दार्जीलिङ जिल्लापाल, जीटीए मुख्य कार्यपालदेखि लिएर सम्बन्धित सबैलाई धेरैपल्ट लिखित आवेदन बुझाइसके तापनि आजसम्म यहाँको जमीनको पर्जापट्टाको निम्ति आजसम्म कुनै पहल नभएकोमा दुःख व्यक्त गरे।

उनले अन्य केही स्थानका मानिसहरूले पर्जापट्टा पाउँदा तर रोहिणीवासीले भने विगतमा धेरैवटा आश्वासनहरू धेरैजनाबाट पाए पनि आजसम्म कसैबाट पनि त्यो आश्वासन पूरा नभएकोले आज फेरि बाध्य बनेर रोहिणीवासीले आफ्नो जमीनको पर्जापट्टाको निम्ति सम्बन्धित विभागलाई लिखित आवेदन बुझाएकाे जनाए। उनले आजको विभागीय अधिकारीसितको भेटवार्ता अत्यन्तै सौहाद्रपूर्ण भएको जनाउँदै उनले पनि रोहिणीवासीलाई आफ्नो पक्षबाट यस दिशामा सक्दो सहयोग गर्ने आश्वासन दिएको जनाए। त्यसरी नै रोहिणी ल्याण्ड राइट्स मञ्चको पक्षबाट अर्का एकजना मिलन रसाईलीले पनि आज धेरै वर्ष भइसक्दा पनि रोहिणीवासीले आफ्नो जमीनको पर्जापट्टा नपाउएको कारणले धेरै समस्या भोग्न परिरहेको जनाउँदै अब भने आगामी दिनमा चाँढ़ै यो समस्याको समाधान भइदियोस् भनी आशा व्यक्त गरेका छन्।










