खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले जंगपाना चिया कमानमा निर्मित मे फेयर रिसोर्टको विधिवत उद्घाटन गरेका छन्। उनले मे फेयर रिसोर्ट क्षेत्रको निम्ति नै फाइदाजनक हुने बताएका छन्। आफ्नो फेसबुक पेजमार्फत् उनले भनेका छन् कि जंगपाना जस्तो दुर्गम स्थानमा मे फेयर रिसोर्ट सञ्चालन हुन्छ भनेर कल्पना पनि गर्नु सक्ने विषय थिएन। तर दूरगामी सोचको कारण आज एउटा प्रसिद्ध रिसोर्ट सञ्चालन हुँदैछ।

उनले भनेका छन् कि रिसोर्टको सञ्चालनले क्षेत्रको आर्थिक विकास त अवश्य नै हुनेछ। अझ थप, क्षेत्रमा पर्यटकहरू पनि आउने सम्भावना बढेर गएको छ। खरसाङ क्षेत्रको चौतर्फी विकास हुनुमा रेसोर्टको ठूलो महत्व रहेको बताउँदै उनले भने, खरसाङ वरिपरि स्थापना गरिएको यो दोस्रो रिसोर्ट हो। यस्ता सेवाहरुले क्षेत्रलाई नै आर्थिक प्रगतिमा सहयोग पुर्याउनेछ। रोजगारको मौका पाउनेछन् हाम्रै भाई बहिनीहरूले। चालकहरुको कमाई पनि बढ्नेछ। स्थानीय कृषकहरूले उत्पादन गर्ने जैविक वस्तुहरूले उचित मोल पाउनेछन्। तर सबैभन्दा महत्व खरसाङ विस्तारै विश्वको पर्यटकीय मानचित्रमा देखा पर्नेछन्। रिसोर्ट देखाउने वस्तु हो भने चिया बगानको मनोरम दृश्य, यहाँको कमाने जीवन, जैविक खेतीपाती पर्यटकहरूको निम्ति चासोको विषय अवश्य रहनेछन्। खरसाङ क्षेत्रले विस्तारै प्रगतिको मार्गमा हिड्नु थालेको छ। एक दिन खरसाङ पनि दगुर्ने हुनेछ।
पलायन भएर शहर जाने भाइहरुले यसै रिसोर्टमा नौकरी पाएका छन्।










