खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्ति कार्यको लागि आज शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट सम्पन्न गरिएको छ। तीनधारेको गोलाई पाखादेखि सिविटार चियाबारीको तितिरी खेल मैदानसम्म जम्मा ५ किलोमीटर ९०० मीटरको रोडको मरमत्ति गर्नलाई शिलान्यास गरिएको छ। उक्त रोड अत्यन्तै जीर्णावस्था पुगेको थियो जसले गर्दा स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो। यो रोडमा स्थनीयहरूले भोगिरहेका समस्याहरूलाई मध्य नजर राख्दै स्थानीय प्रतिनिधिहरूले जीटीए चिफ् अनित थापालाई गुहार लगाएपछि गत केही दिन अघि क्षेत्रीय सभासद नवराज छेत्री र विभागीय अधिकारीहरूले निरीक्षण गरेका थिए।

उक्त रोडको मरमत्ति कार्यको लागि आज सिविटारको बाघमारा बस्तीमा लामा म्हेम्हे अम्बर लामाद्वारा बौध्द धर्म अनुसार पूजा अर्चना गरेर क्षेत्रीय सभासद नवराज छेत्रीले नरिवल खुटाएर शिलान्यास गरेका छन्। यस शिलान्यास कार्यमा सभासद नवराज छेत्री लगायत भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष कुसाङ लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्री र स्थानीयहरू उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्रीले तीनधारेको गोलाई पाखादेखि सिविटारको तितिरी खेल मैदानसम्म पुग्ने रोडको मरमत्तिको लागि आज शिलान्यास गरिएको बताएका छन्। उनले यो रोडको जीर्णावस्थाको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो र यस रोडको मरमत्तिको लागि हामीले जीटीए चिफ् अनित थापालाई निवेदन गरेपछि मरमत्ति कार्य गरिने भएको छ र यो मरमत्ति कार्य आजदेखि नै शुरु हुने भएको बताएका छन्। उनले यस रोडको मरमत्ति कार्यको लागि क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए चिफ् अनित थापालाई स्थानीयहरूका पक्षमा धन्यवाद दिएका छन्।

त्यसरी नै रोडको मरमत्ति कार्य गरिने विषयमा स्थनीयहरूले पनि स्थानीय प्रतिनिधिहरू, क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्। स्थानीयहरूले तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको अवस्था सोचनीय रहेकोले स्थानीयहरूले धेरै असुविधा झेल्नु परिरहेको थियो। रोडको विभिन्न स्थानहरूमा जीर्णावस्था भएकोले गाड़ीहरू कुदाउन धेरै असुविधा भईरहेको थियो भने बाइक र स्कुटीहरू कुदाउन पनि धेरै असुविधा भईरहेको थियो। त्यसैले यस रोडको मरमत्ति कार्य जरूरी रहेको थियो। अब यस रोडको मरमत्ति कार्य भएपछि स्थानीयहरूले सुविधा पाउने आशा राखेका छन्।










