२१ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ७०औं म्याचमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई ६ विकेटले पराजित गऱ्यो। यस म्याचको साथै आईपीएलको शुरुवाती चरण समाप्त भयो अनि आरसीबी-को हारपछि मुम्बई इण्डियन्सले चौथो टीमको रूपमा प्लेअफ्-मा स्थान बनायो। आईपीएलको शुरुवाती चरणको समाप्तिपछि गुजरात टाइटन्स १४ वटा म्याचमा २० पोइण्ट्सको साथ शीर्ष स्थानमा रह्यो। यसरी नेट रन रेटको आधारमा चेन्नई सुपर किंग्स दोस्रो र लखनऊ सुपर जाइण्ट्स तेस्रो स्थानमा रह्यो। यी दुई टीमले १७-१७ पोइण्ट्स हासिल गऱ्यो। यसरी नै मुम्बई इण्डियन्स १६ पोइण्ट्सको साथ चौथो स्थानमा रहन पुग्यो। अब मंगलवार खेलिने आईपीएलको क्वालीफायर १-मा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच भिड़न्त हुनेछ। त्यस म्याचको विजेताले २८ मईको दिन खेलिने फाइनलमा स्थान बनाउनेछ। यसरी नै एलिमिनेटर म्याच लखनऊ सुपर जाइण्ट्स र मुम्बई इण्डियन्सबीच २४ मईमा खेलिनेछ। त्यस म्याचको विजेताले २६ मईको दिन खेलिने क्वालीफायर २-मा क्वालीफायर १-मा पराजित हुने टीमको चुनौती स्वीकार्नेछ। त्यसपछि क्वालीफायर २-को विजेताले फाइनलमा क्वालीफायर १-को विजेतासँग सिंग जुझाउनेछ।
आज बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो। विराट कोहलीले १३ वटा चौका र एउटा छक्काको साथ ६१ बलमा अविजित १०१ रन बनाए। यो उनको आईपीएल २०२३-मा लगातार दोस्रो अनि समग्रमा सातौं शतक हो। यसबाहेक कप्तान फाफ डू प्लेसिसले २८, माइकल ब्रेसवेलले २६ र अनुज रावतले अविजित २३ रन बनाए। गुजरात टाइटन्सका बलरहरूमा नूर अहमदले सर्वाधिक २ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले १९.१ ओभरमा ४ विकेट गुमाएर १९८ रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर शुभमन गिलले ८ वटा छक्का र ५ वटा चौकाको साथ ५२ बलमा अविजित १०४ रन बनाए। यसबाहेक विजय शंकरले ७ वटा चौका र २ वटा छक्काको साथ ३५ बलमा ५३ रन बनाए। आरसीबी-का बलरहरूमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिए।