कृषकहरूलाई प्रदान गरियो बायो ग्यास प्लान्ट

IMG-20230521-WA0336.jpg

गान्तोकः राष्ट्रिय डेयरी विकास बोर्डको सहयोगमा सिक्किम को-ओपरेटिव मिल्क प्रोड्युसर्स युनियन लिमिटेडले राज्यको कमेरे गाउँ क्लस्टरमा मल प्रबन्धन परियोजना कार्यान्वयन गरिरहेको छ। परियोजना अन्तर्गत सिक्किम को-अपरेटिभ मिल्क प्रोड्युसर युनियन लिमिटेडका १२० डेयरी कृषकहरूलाई छनौट गरी बायो ग्यास प्लाण्ट प्रदान गरिएको छ।

यी दुग्ध कृषक परिवारले प्लान्टबाट उत्पादित बायो ग्यासलाई आफ्नो खाना पकाउने ऊर्जाको आवश्यकता पूरा गर्न र उत्पादन हुने बायो-स्लरीलाई आफ्नो कृषि क्षेत्रमा प्रयोग गर्नेछन्। परियोजना अन्तर्गत यसै हप्ता कमेरे गाउँमा स्लरी प्रसंस्करण संयन्त्रको ट्रायल रन पूरा गरिएको छ। ट्रायल गरिएको उत्पादलाई राष्ट्रिय डेयरी विकास बोर्ड टोलीले पर्यवेक्षण गरिसकेको छ। राष्ट्रिय डेयरी विकास बोर्डको उक्त प्रतिनिधि टोलीमा प्रबन्धक विनय पटेल, योजना प्रबन्धक केबी प्रताप, एसएमयुका बोर्ड अफ् डिरेक्टर सीपी भट्टराई आदि सामेल थिए। यस अवधि कमेरे गाउँका दूध उत्पादन सहकारी समितिका अध्यक्ष लगायत अन्यको उपस्थिति रहेको थियो।

हिजो राष्ट्रिय डेयरी विकास बोर्डका उक्त टोलीसँगै सिक्किम मिल्क युनियनका महाप्रबन्धक सुश्री केसाङ डिकी, उप-प्रबन्धक लगायत अन्य अधिकारीहरूको उपस्थितिमा यसबारे एक मन्थन सभा आयोजन गरियो। पशुपालन एवं पशु चिकित्सा सेवा विभागीय सचिव एवं महाप्रबन्धक डा. पी. सेन्थिल कुमारको अध्यक्षतामा आयोजित मन्थन सभामा सिक्किम मिल्क युनियनले क्लस्टरका डेयरी किसानहरूका लागि यसलाई लाभदायक उद्यम बनाउनबारे चर्चा गरियो। सभामा यी सबै १२० कृषकहरूलाई सहकारी संस्थामा सङ्गठित गर्ने निर्णय गरिएको छ। स्लरीबाट उत्पादित जैविक मल राज्य भित्र र बाहिरका मानिसहरूलाई ब्राण्ड नाम लगाएर बेचिनेछ। जानकारी गराइन्छ, ताजा गोबरलाई बायो गासमा रूपान्तरण गर्दा प्रत्यक्ष जलाएर १० प्रतिशत दक्षताको तुलनामा ५५ प्रतिशत दक्षता दर प्राप्त हुन्छ। तसर्थ खाना पकाउने ईन्धनको रूपमा प्रभावकारी प्रयोग गर्न उपलब्ध मललाई बायो ग्यासमा परिणत गर्नु महत्त्वपूर्ण छ। सोही समयमा बायो ग्यास प्लाण्टले दाउरा सङ्कलन गर्ने चुनौतीपूर्ण कामबाट महिला र बालक-बालिकालाई बचाउनेछ।

About Author

Advertisement