दार्जिलिङमा मदन तामाङको १३औं पुण्यतिथि पालन

IMG-20230521-WA0314.jpg

मदन तामाङ जस्तो भिजन भएको इमान्दार अनि सशक्त नेता गोर्खा जातिले अझ ५० वर्षपछि पनि पाउँदैन: प्रताप खाती

दार्जिलिङ: अखिल भारतीय गोर्खा लीगका संस्थापक नेता मदन तामाङको आज १३औं पुण्यतिथि पालन गरिएको छ। मदन तामाङको पुण्यतिथि गोर्खालीग नेताहरू लगायत अन्यले दार्जीलिङको क्लब साइडमा रहेको स्व मदन तामाङको सालिग अघि पुगेर श्रद्धाञ्जलि अर्पण गर्दै पालन गरेका छन्। दार्जिलिङको क्लब साइड परिसरमा अवस्थित गोर्खा लिगका दिवंगत नेता मदन तामाङको सालिग अघि श्रद्धाञ्जलि अर्पण गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै अखिल भारतीय गोर्खालीग नेता प्रताप खातीले २१ मईलाई गोर्खाहरूको भाग्य फुटेको दिन बताउँदै १३ वर्ष अघि आजकै दिन गोर्खालीग नेता मदन तामाङको हत्या गरिए पनि यति वर्ष बितिसक्दा गोर्खा जातिले न्याय नपाएको उल्लेख गर्दै गोर्खाको भाग्य फुटेको बताएका छन्। उनले भने, मदन तामाङ जस्तो भिजन भएको इमान्दार अनि सशक्त नेता गोर्खा जातिले अझ ५० वर्षपछि पनि पाउँदैन। मदन तामाङको हत्याकाण्ड विषय लिएर फेरि देशको सर्वोच्च न्यायालय जाने हामीले मन बनाएको छौं। मदन तामाङ हत्याकाण्डका आरोपीहरू अझ पनि खुल्ला रूपले घुमिरहेका छन्। यस हत्याकण्ड विषय लिएर अदालतमा मुद्दा छ। तर अहिलेसम्म स्व मदन तामाङले न्याय पाएका छैनन्। यसैले यसमाथि शीघ्र ठोस निर्णय होस् भन्ने अपील गर्नको लागि नै देशको सर्वोच्च न्यायालय जाने विषय लिएर पार्टीभित्र सल्लाह गर्नेछौं।’ उनले अघि भने, मदन तामाङले सत्य बोल्थे अनि सरकारका दलालहरूले मदन तामाङले बोल्ने सत्य कुरा छोप्नको लागि नै मदन तामाङलाई मारेका हुन्। दिवंगत नेता मदन तामाङले देखाएको बाटोमा नै आफूहरू हिँड़्ने संकल्प गर्छौं। अन्य मदन तामाङले देखाएको बाटोमा हिँडुन् वा नहिँडुन्, तर प्रताप खाती सधैं उनले देखाएको बाटोमा नै हिड्नेछ।’
यसै क्रममा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका मुख्य संयोजक किशोर प्रधानले पनि २१ मईलाई गोर्खाले आफ्नो अभिभावक गुमाएको दिन रहेको बताए। मदन तामाङको सालिग अघि श्रद्धासुमन अर्पण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै किशोर प्रधानले २१ मईको दिन स्व.मदन तामाङप्रति श्रद्धाञ्जलि दिएर मात्रै बस्नु हुँदैन तर स्व. मदन तामाङले भनेका कुराहरूलाई अक्षरस पालन गर्ने संकल्प गरिएको बताएका छन्। उनले भने, ‘मदन तामाङको हत्या एउटा ठूलो षड्यन्त्र थियो जसमा मर्ने अनि मार्ने दुवै गोर्खा छन्। अब उसो त्यस्तो हुनु हुँदैन। मदन तामाङ एउटा राजनैतिक पार्टीमा भए पनि उनले कहिले राजनीति गरेनन् किनभने उनी एक स्पष्टवादी नेता थिए, जसले स्पष्ट बोल्छ। उसले राजनीति गरेको हुँदैन। यसैले मदन तामाङको प्रत्येक शब्दमा गोर्खा जातिको आवाज हुन्थ्यो।’

About Author

Advertisement