नेता मदन तामाङको सम्झना
चित्रकारी चित्रे- ८३४० फीट अग्लो डाँडा अनि मेघमय मेघमा ८५३० फीट (२६०० मिटर) अग्लो डाँडा। नागरी कोलाहलदेखि मुक्त स्थल- जहाँ छ नेता मदन तामाङको पैतृक परिसर। चित्रे- मानेभन्ज्याङदेखि ३ कि.मि. माथि। बाटो छ साह्रै उकालो। सन्दकफू जाने बाटोमध्ये सबैभन्दा उकालो। कुहिरो नहुँदा कञ्चन्जङ्घा हिमशृङ्खला छर्लङ्ग देखिने ठाउँमा छ गुम्बा, घर, खेत अनि वन क्षेत्र।
मेघमा- यहाँ १९५०-मा बनिएको सुन्दर बौद्ध गुम्बा छ– नेता मदन तामाङ अनि उनका भाइहरू हाम्रा मित्र अमर लामा तामाङ र प्रदीप तामाङका ह्मेमे (बाजे)-ले बनाएका। कुनै बेला उक्त गुम्बामा सिद्ध तिब्बती लामाहरूले पनि भ्रमण गरेका थिए। त्यो कतिपय अलौकिक चमत्कारहरूको साक्षी पनि हो। मदनादिका आपा (बुवा) मनबहादुर तामाङ ह्लासामा शिक्षित र दीक्षित भएका व्यक्ति थिए। अमर-प्रदीपका जेठा जोजो (दाइ) मदन तामाङ त्यहीँ जन्मेका थिए। मदन महोदयको निधनपछि त्यस परिसरको एउटा ढुङ्गोमा ‘Madan Stroll’ लेखिएको र सम्झना साँचिएको पाइन्छ। अङ्ग्रेजी शब्द ‘स्ट्रोल’ भनेको विचरण वा भ्रमण वा पैदल हिँडेर घुम्नु हो। परिसरभरि प्रकृतिपुत्र र प्रेमी मदन महोदयले रोपेका उपयोगी र औषधीय वृक्ष-वनस्पति छन्। सम्प्रति प्रदीपज्यूले नै मेघमा गुम्बा र मूल्यवान् उद्भित् सह्मालेर राखिआएका छन्। गुम्बामा पुरोहित लामाहरूको आवास-भोजन-दर्शन-पूजन व्यवस्था, तम्बा (वरिष्ठ)-को आसन, कर्मकाण्ड सामग्री, १०८ बुद्ध, सहस्र रिम्पोर्चे त्यहाँका निधि हुन्।
त्यस तामाङ परिवारमा १ जून १९४८-मा जन्मेका जेठो नाति मदन तामाङ दिग्गज गोर्खा नेता र सचेत भारतीय राजनयिक थिए। सन्त रोबर्टस विद्यालय र सन्त जोसेफ्स महाविद्यालय पढेका मदन तामाङले १९६९-मा देवप्रकाश राईको नेतृत्वमा रहेको अखिल भारतीय गोर्खा लीगको माध्यमबाट राजनीतिमा प्रवेश गरेका थिए अनि १९७०-को दशकमा तरुण गोर्खाका नेता बनेका थिए। १९७७-मा अभागोली-का दार्जीलिङ जनपद महासचिव बने, तर १९८०-मा त्यहाँबाट छुट्टिएर प्रान्त परिषद् खोलीकन छुट्टै प्रान्त अभियानमा संलग्न भएका थिए। अखिल भारतीय नेपाली भाषा समितिसित पनि प्रान्त परिषद् सहयोगी भएर भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिने अभियानमा पनि लागेका थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको स्थापनाकालमा नेता सुवास घिसिङका सहकर्मी मदन तामाङ मतभेदले भिन्न भए। गन्तव्य एक गोर्खाल्याण्ड भए पनि यी दुई भिन्न पथका गामी बने। गरमपन्थी आन्दोलनकालदेखि यिनी प्रमुख नरमपन्थी आलोचक बने। आलोचकलाई विरोधी ठान्नेहरूले यिनको मेघमा घर ग्रन्थालयसहित जलाइदिए। १८८८-मा गोरामुमोले दार्जीलिङ गोर्खा पार्वत्य परिषद् थापेपछि घिसिङ शासक भइरहेका बेला १९९२-मा गोर्खा प्रजातान्त्रिक मोर्चा (गोर्खा डेमोक्रेटिक फ्रन्ट) थाले तर २००१-मा गोडेफ्र-लाई गोर्खा लीगमै मिलाए। २००७-को प्रशान्त प्रकरणले घिसिङ राजनीति अवसान भएपछि विमल गुरुङको नायकत्वमा आएको गोर्खा जनमुक्ति मोर्चाका मौखिक आलोचक बने यिनी नै। गोजमुमो.-को विरोधमा यिनले भाजपा-क्रामाकपालगायत ८ दले गठबन्धनसमेत बनाए। गोजमुमो.-लाई आलोचनाले पानीखेदो गरे। गोजमुमोले पनि आलोचकलाई विरोधी नै ठान्यो। २१ मई २०१० यिनको हत्या नै भयो।
मदन महोदय राजनयिक हुँदाहुँदै पनि प्रखर अध्येता थिए। अध्यवसायीलाई सराहना गर्दथे। भारतका प्रसिद्ध नेता, विद्वान्, उद्योगपति र बुद्धिजीवीसँग यिनको मैत्रीपूर्ण सम्बन्ध थियो। यिनी तनका, मनका र धनका धनी थिए। पढन्ते विद्यार्थीलाई उच्च शिक्षामा व्यक्तिगत अनुदान दिन्थे। अल्छे, लोतिखरे, छली, कपटी, व्यसनीहरूलाई सबैका अघि भक्कु झपार्थे। चिप्ले चिन्नमा चङ्खा थिए। बाहिर चाम्रा थिए तर मनले राम्रा थिए। कृषि र उद्योगमा मन दिन्थे। वृक्ष-वनस्पति-जीव-जन्तु चिन्न र चुन्न सक्दथे। चियाबारी र वन सम्पदाका अधिपति थिए। इतिहास, भूगोल, साहित्य-दर्शन, विज्ञान आदि तत्त्वान्वेषी विषयका ज्ञाता थिए। बोलेर ज्ञान प्रचार गर्थे तर लेखेर कहिल्यै गरेनन्। अरूले लेखेका बिँडी कम्पनीका पत्रदेखि वेदोपनिषद्सम्म पढेका हुन्थे। यिनी विज्ञानवादी बौद्ध थिए। कर्मकाण्डवादी बौद्ध पद्धतिका ज्ञाता त यिनका भाइ छन् प्रदीप। दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्ने अभिप्रायले १८ फरवरी २०१८-मा सर्वपरिवार प्रदीपज्यूकहाँ पुगेका थियौँ। वज्रयानी मन्त्रपाठ, ग्यालङ-झ्याम्टाका नियमबद्ध वादनसम्म जान्ने प्रदीपज्यूले हामीलाई धेरै समय दिए। गुम्बा घुमाए, मदन महोदयका रुचिकर खेती-वृक्ष-वनस्पति देखाए, दर्शन-पूजनका अवसर दिए र दिए सहृदयता। मदन तामाङको मृत्युलाई भारतमा गोर्खा राजनीतिको पतनबिन्दु मान्न सकिँदछ। त्यसपछि गोर्खाको राजनीतिक अस्मिता ऊर्ध्वमुखी हुनसकेकै छैन।***









