रिना सुब्बाकृत उपन्यास ‘परिवर्तित अनुहार’ माथी पुस्तक विमर्श कार्यक्रम सम्पन्न  

eb721ee2-b173-453a-88ab-8eb63923d178

लुकसानः हिज लुकसान नेपाली जुनियर हाई स्कुलको प्रक्षागृहमा वरिष्ठ समाजसेवी जेठा सुब्बाको अध्यक्षतामा नारी सशक्तीकरणमाथि कलम चलाइरहेकी उपन्यासकार रिना सुब्बाकृत ‘परिवर्तित अनुहार’ उपन्यास पुस्तकमाथि विमर्श कार्यक्रम सम्पन्न भयो। युवा कवि अमीर सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, प्रमुख वक्ताको रुपमा डुवर्सका वरिष्ठ समालोचक मननारायण प्रधान, विशेष अतिथिमा चेङ्गमारी हिन्दी हाई स्कुलका प्रधानाध्यापक तथा बानरहाट मखमली समाजका सभापति कुमार छेत्री, सचिव तथा वरिष्ठ पत्रकार राजेश प्रधान, साहित्यकार जनार्दन थापा लगायत लुकसान नेपाली जुनियर हाई स्कुलका प्रधानाध्यापक बासु छेत्री, लुकसान नेपाली जुनियर हाई स्कुल प्रभारी प्रभात प्रधान आदिको उपस्थित रहेको थियो भने विभिन्न क्षेत्रबाट उपस्थित साहित्यानुरागी, विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको शुभारम्भमा अतिथिहरूलाई खदार्पणसहित भव्य स्वागतपछि लुकसान नेपाली जुनियर हाई स्कुलका प्रभारी प्रभात प्रधानले स्वागत वक्तव्य राख्दै सबैलाई स्वागत जनाए। कार्यक्रमको औचित्यमाथि बोल्दै जनार्दन थापाले भने, सर्जक रिना सुब्बाले समाजमा देखिएको विसंगति, नारी हिंसा र प्रताडनामाथि आख्यानको रुपमा दह्रोसँगले कलम चलाउँदै आइरहेकी छन्। उनको यो मौलिक कृतिमाथि विमर्शका साथ पाठक समक्ष पुऱ्याउनु नेपाली साहित्यप्रेमी जनमानसको प्रमुख कर्तव्य हुनाले आजको यस विमर्श कार्यक्रमको उदेश्य निकै गहन बन्दछ।

धार्मिक एंव सांस्कृतिक रीतिरिवाज बमोजिम समाजमा छोरी चेलीलाई लक्ष्मीको दर्जा दिए पनि वास्तवमा ती छोरीचेलीहरूले पारिवारिक सम्पत्तिमाथि कति हक् र अधिकार जताउन पाइरहेका छन् सो घोत्लिएर सोंच्नु पर्ने दिन आएको छ। रिना सुब्बाले अति साहस जुटाएर लेखेकी यो उपन्यास बेग्लै धारको रहेको छ भनि वक्तव्यको क्रममा डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवासले बताए। पुस्तक विमर्शको क्रममा वरिष्ठ समालोचक मननारायण प्रधानले कृतिको सबल र दुर्बल दुवै पक्षबारे खुलेर समीक्षा गरे। नारीले आफुप्रति भएको दमन, शोषण एवं अत्यचारबारे खुलेर विद्रोह गर्न नसकेपनि कृतिको रुपमा यस ‘परिवर्तित अनुहार’ मार्फत सर्जक रिना सुब्बाले जोडतोडले सबै पक्षलाई समेटेर पाठक सामु ल्याएको हुँदा यो कृति अवश्य पनि बेग्लै प्रकारले रसास्वादन गर्न सकिन्छ भनि बताए।

खरसाङकी सर्जक रिना सुब्बाको कृतिमाथि डुवर्सको यस भुमिमा विमर्श गर्न पाउनु हामी सम्पूर्ण डुवर्सवासीको निम्ति गर्वको विषय हो भनि डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा राखे। वक्तव्यको क्रममा श्री कुमार छेत्रीले आफ्नो मन्तव्य राखे भने गजलकार श्री प्रकाशचन्द्र शर्माले मीठो गजल अनि युवा कवि श्री अमीर सुब्बाले पनि गजल प्रस्तुत गरे। सर्जक रिना सुब्बालाई आयोजकको तर्फबाट खदा, पुष्पगुच्छा सहित सम्बर्द्धना पत्रले सम्मान गरियो भने सरोजा सुब्बा अनि उनका साथीहरूले कार्यक्रमबीच ७१ वटा पुस्तक तत्काल बिक्री गरेर मोठ रकम सर्जकलाई हस्तान्तरण गर्दै उदाहरणीय कार्य प्रस्तुत गरे भने हिजोआज पुस्तक बिक्री हुँदैन भन्ने नेरेटिभलाई चिर्दै सर्जकलाई उत्साह दिन यो स्तुत्य कार्यबारे प्रभात प्रधानले खुलेर प्रशंसा गरे।

About Author

Advertisement