२१ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्सले आफ्नो अजेय अभियान जारी राख्यो। स्थानीय मेला ग्राउण्डमा आइतवार खेलिएको म्याचमा युनाइटेड ब्रदर्सले नादोङ भूटिया फूटबल एकाडमीलाई ५-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट देवाशिष राई र कप्तान सोनम लेप्चाले २-२ गोल गरे। यसबाहेक सौरभ तामाङले १ गोल गरे। यसरी नादोङ भूटिया फूटबल एकाडमीबाट ज्याक राईले १ गोल गरे। युनाइटेड ब्रदर्सका प्रतिभाशाली मीडफिल्डर विशाल छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सोमवार खेलिने म्याचमा कालेबुङ जिल्ला पुलिस र जर्जियन एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।









