खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर तुरुकमा पशुमा लाग्ने छालाको रोग लम्पी विषयमा जनचेतना कार्यक्रम साथै नि:शुल्क दबाई वितरण कार्यक्रम सम्पन्न भएको छ। वर्तमान समयमा पशुहरूमा लाग्ने छालाको रोग लम्पीले विभिन्न क्षेत्रहरूमा पशु पालकहरू हैरान भएका छन्। यसै कुरालाई ध्यानमा राखेर सिटोङको तुरुकमा सचेतना कार्यक्रम आयोजना गर्दै दबाईहरू पनि वितरण गरिएको छ। उक्त सचेतना कार्यक्रममा उक्त क्षेत्रका १०० देखि १५० जना जति पशु-पालकहरू उपस्थित रहेको जानकारी प्राप्त भएको छ। उक्त सचेतना शिविरमा पशु पालकहरूलाई लम्पी रोग विषयमा जानकारी गराइएको छ। यस कार्यक्रममा खरसाङ खण्डको भेटनेरीका बढ़ा बाबु अजय राई साथै पशु चिकित्सक सुकबेन्दर मण्डल पनि उपस्थित रहेका थिए। त्यसको साथै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली र भागोप्रमो खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन सेवा लगायत अन्यहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भेटनेरी खरसाङ खण्डको बड़ा बाबु अजय राईले अहिले पहाड़मा त्रसित बनेका छन् र हामीले उपचार पनि गरिरहेका छौं भनी बताएका छन्। उनले भने, यो रोग पशुदेखि मानिसमा सर्दैन, यो केवल पशुदेखि पशुमा तेति बेला सर्छ जतिबेला खुन खाने कीराहरू जस्तै झींगा, मच्छर आदिले रोगी पशुलाई टोकेर अर्कोलाई टोक्दा सर्छ। यस रोगबाट डराउनु पर्दैन। बरु पशु पालकहरूले वरिपरि सर सफाई गर्नु चैं आवश्यक छ।’

उनले अघि भने, हामीले सिटोङ क्षेत्रमा ९० प्रतिशत पशुहरूमा भेक्सिन गरिसकेका छौं र उपचार पनि गरिरहेका छौं। यदि कुनै पनि पशुलाई य लम्पी रोगको लक्षण देखा परेको खण्डमा झट्टै पशु विभागमा सम्पर्क गर्न सक्नेछन्।’
त्यसरी नै पशु चिकित्सक सुकबिन्दर मण्डलले यो लम्पी रोग मानिसमा सर्दैन त्यसैले डराउनु पर्दैन भनी बताएका छन्। उनले यो रोग खुन खाने कीराहरू झींगा, मच्छर आदिले संक्रमित पशुलाई टोकेर अर्को पशुलाई टोक्दा सर्छ भनी बताएका छन्।









