२१ मईः ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबलको प्रीमियर लीग युगमा म्यानचेष्टर सिटी खिताबको ह्याट्रिक पूरा गर्ने केवल दोस्रो टीम बन्यो। शनिवार राति आर्सनल हारको सम्मुखीन हुनको साथै सिटी २०२२-२३ सीजनको निम्ति प्रीमियर लीग च्याम्पियन बन्यो। म्यानचेष्टर सिटीको यो लगातार तेस्रो अनि गत ६ सीजनमा पाँचौं प्रीमियर लीग खिताब हो। सिटीले यी पाँचैवटा खिताब पेप ग्वार्डियोलाको मार्गदर्शनमा जितेको छ। समग्रमा यो सिटीको नवौं प्रीमियर लीग खिताब हो। म्यानचेष्टर सिटी अघि प्रीमियर लीगमा म्यानचेष्टर युनाइटेडले दुईपल्ट खिताबको ह्याट्रिक (१९९३-१९९७ अनि २००७-२००९) गरेको थियो। लीग खिताब पक्का गर्नको साथै सिटीले ऐतिहासिक ट्रेबल पूरा गर्ने दिशामा पनि मजबूत कदम बढ़ायो। सिटीले अब ३ जूनमा खेलिने एफए कपको फाइनलमा चीरप्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ। यसरी नै यूएफा च्याम्पियन्स लीगको फाइनलमा सिटीले इण्टर मिलानको चुनौती स्वीकार्नेछ। च्याम्पियन्स लीगको फाइनल ११ जूनमा इस्तानबुलमा खेलिनेछ।
सीजनको शुरुदेखि नै सिटीलाई लगातार चुनौती दिने आर्सनलले शनिवार राति नटिंघम फरेष्ट विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो आर्सनलको यो लगातार दोस्रो हार हो। सिटी ग्राउण्डमा केवल १८ प्रतिशत पोजेशनको साथ खेल्ने नटिंघम फरेष्टबाट म्याचको एकमात्र गोल ताइवो अवोनियीले १९औं मिनटमा गरे। यस हारपछि आर्सनल ३७ वटा म्याचमा 81 पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी च्याम्पियन म्यानचेष्टर सिटीसँग ३५ वटा म्याचमा ८५ पोइण्ट्स रहेको छ। नटिंघम फरेष्ट ३७ पोइण्ट्सको साथ १६औं स्थानमा रहेको छ। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ बोर्नमाउथ विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। बोर्नमाउथको होम ग्राउण्ड भाइटालिटी स्टेडियममा युनाइटेडबाट एकमात्र गोल अनुभवी कासेमिरोले नवौं मिनटमा छिराए। यस जीतपछि युनाइटेड ३६ वटा म्याचमा ६९ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहन पुग्यो। अन्य म्याचहरूमा लिभरपूल जसोतसो हार्नदेखि बाँच्यो भने टोटनह्याम हट्स्पर पराजयको सम्मुखीन भयो। लिभरपूलले एस्टन भिल्ला विरुद्ध म्याच १-१-ले ड्र गर्न निक्कै मेहनत गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा लिभरपूल लगभग अन्तसम्म पछि रहेको थियो। जेकब रामसेले एस्टन भिल्लालाई २७औं मिनटमा बढ़त दिलाए। चरम दबाउबीच रोबर्टो फिर्मिनोले ८९औं मिनटमा गोल गरी लिभरपूललाई हारदेखि बचाए। यसरी नै टोटनह्यामले ब्रेण्टफोर्ड विरुद्ध १-३-ले पराजयको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ह्यारी केनले आठौं मिनटमै बढ़त दिलाए पनि टोटनह्यामले दोस्रो हाफमा तीन गोल खायो। ब्रेण्टफोर्डबाट ब्रायन एम्ब्यूमोले ५०औं र ६२औं मिनटमा २ गोल गरे। यसबाहेक योआने विसाले ८८औं मिनटमा गोल गरे। लिभरपूल अहिले ३७ वटा म्याचमा ६६ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। यसरी गत ५ वटा म्याचमा केवल एउटा जीत हासिल गर्ने टोटनह्याम ५७ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ।










