कालचिनी। कालचिनीबाट प्रायः ८ किलोमीटर टाढ़ा बक्सा ब्याघ्र प्रकल्प पश्चिमको पाना रेञ्ज अन्तर्गत तथा कालचिनी ग्राम पञ्चायतको पार्ट नम्बर ११/१५३ अधीनस्थ पर्ने एउटा सानो सुखी बनबस्तीको नामले चिनिने गङ्गुटिया बनबस्ती अहिले सरकारी अवहेलनाको शिकार बनेका छन्। पहिला पञ्चायत व्यवस्था नहुँदा पनि बन विभागले स्थानीय समस्या समाधान गर्दै आइरहेको थियो तर पञ्चायतराज आएपछि त गङ्गुटिया बनबस्तीका बासिन्दाहरूले झन विकासको कामबाट वञ्चित रहनु परेको बताउँछन् गाउँलेहरू। भारत स्वाधीनताको अघि प्रायः १९४० सालमा स्थापित गङ्गुटिया बनबस्तीमा ६३ घरमा प्रायः ३५० जना परिवार सदस्यहरू रहेका छन् भने गङ्गुटिया खोलाको डिलमा अवस्थित सो गाउँका बासिन्दाहरू आजसम्म भनेजस्तो विकासमूलक प्रकल्पहरूको सुविधाबाट वञ्चित भएर बस्न बाध्य छन्। पञ्चायत व्यवस्था आए तापनि पञ्चायती सुख सुविधा जस्तै आजसम्म पीसीसी बाटो नबनेको र गङ्गुटिया खोलामा एउटा सेतुको व्यवस्था नरहेकोले बर्षाकालमा यस गाउँका बासिन्दाहरू थुनिएर बस्न परेको र त्यसमाथि गत १७ जुनको राती परेको हात्तीसुँड़े पानीले गङ्गुटिया खोलाको उग्र रुप गाउँलेहरूले देखेको र हेर्दाहेर्दै खेती गर्ने जमीन खोलाले लगेको गाउँलेहरूले जनाएका छन्।
गङ्गुटिया बनबस्तीका बासिन्दाहरू जीवनकुमार लामा, मनिक लामा, रावत लामा, फुर्बा लामा र रन्दुवा लामाले खेतीको प्रायः १० बिघा जमीन गङ्गुटिया खोलाले सबै नासेर लगेकोले गाउँलेहरू अब घर पनि खोलाको बगरमा डुब्ने दिन कुरेर बस्न परेको जनाएका छन्। विगत ३-४ सालदेखि बीडीओ कार्यालयदेखि जिल्ला शासक र सिँचाई विभाग सबै निकायहरूमा बारम्बार ज्ञापन दिँदै आइरहेको तर कसैले पनि गङ्गुटिया बनबस्तीमा निरीक्षण गर्न पनि नआएको दुखेसो पोखेका छन् गङ्गुटिया बनबस्ती बासिन्दाहरूले। बर्षाकालमा अब खोला तरेर कालचिनी पुगेर सौदापात गर्न पनि नसक्ने अवस्थामा न बीडीओ न त ग्राम पञ्चायत कतैबाट पनि जीआर नपाएको गुनासो पोख्छन् गाउँलेहरू। बारीको डिल्कना जति सबै खोलाले कोट्याएर खाइदिएको र गाउँलेहरूको गाईगोरुहरू बारीमा चर्दा चर्दै डिल्कनाबाट प्रायः ३० फूट मुनि खोलामा झरेर मरेको र अहिले बारीको अलिकति बाँचेको जमीन पनि खोलाले भत्काएर लगेको तर यत्रो हुँदा पनि सम्बन्धित विभागमा खबर दिँदा आजसम्म गङ्गुटिया बनबस्तीलाई अवहेलना गरेर राखेको गाउँलेहरूले गुनासो गरेका छन। गाउँको एकमात्र खेल मैदान पनि खोलाले आधासरो बगाएर लगेकोले अब खेलाधुला गर्ने मैदान हराउँदै गएको र आजसम्म गङ्गुटिया बनबस्तीको प्रायः २० देखि २५ बीघा खेतीको जमीन खोलामा समाएको गाउँलेहरूले जनाएका छन्। यता बन विभागलाई यसबारे पदक्षेप लिने निवेदन गर्दा बन विभागले बन विभागको अधीनमा यो काम नहुनाले यसको जानकारी कालचिनी ब्लक प्रशासन समक्ष पुऱ्याएको पाना रेञ्जर अर्णव दासले जनाएका छन्।

आज यस क्रममा पाना रेञ्जर अर्णव दासले गाउँलेहरूसित खोलाले गरेको भूमिक्षय निरीक्षण गरेका थिए भने भने यस सम्बन्धमा तिनले कालचिनीका जोइन्ट बीडीओलाई स्थितिको जानकारी गराएको थियो। यता गाउँलेहरूले यो जमीन बन विभागको रहेकोले बन विभागले पनि यसमा भुमिका निर्वाह गर्नुपर्ने दाबी रेञ्जर समक्ष राखेका छन् भने रेञ्जरले यसको लागि डीएएफडी समक्ष गाउँलेहरूलाई निवेदन गर्ने सल्लाह दिएको गाउँलेहरूले जनाएका छन्। गाउँलेहरूले पानी पर्ने बित्तिकै बिजुली ठप्प हुने रुटिन चलिरहेकोले राती जङ्गली हात्तीको उत्पातमा गाउँलेहरूलाई जोखिम उठाउन परेको पनि सथानीय समाजसेवी जीवनकुमार लामाले जनाएका छन्। खोला बढ़ने बित्तिकै गाउँलेहरू खोला आरपार गर्न नसक्ने स्थितिमा कालापानी सरह जीवन बिताउन बाध्य भएको पनि स्तानीय बासिन्दा फुर्बा लामाले बताएका छन्। खोला पार गरेर स्कूल जान पर्ने विद्यार्थीहरू धेरैपल्ट खोलामा लड़ेर चोटपटक लागेको र कतिको साइकल खोलाले बगाएर लगेको घटनाहरू पनि बताएका छन्। यदि यसरी नै आपतकालिन काम सुरक्षा बाँध निर्माण नगरिए गङ्गुटिया बनबस्तीका धेरै गाउँलेको घरहरूसितै बन विभागको बिट कार्यालय, प्राइमरी स्कूल, एसएसबी क्याम्प सबै खोलाले बगाएर लैजाने निश्चित रहेको स्थानीय बासिन्दाहरू जीवनकुमार लामा, मनिक लामा, रावत लामा फुर्बा लामा आदिले जनाएका छन्।