गान्तोक: जङ्गु निर्वाचन क्षेत्रमा पर्ने कनाका नदीको मान्ताम पुल भेलले डुबेपछि दुईवटा ग्राम पञ्चायतका मानिसहरू पूर्ण रूपमा सम्पर्कबिहिन बनेका छन्। माथिल्लो जङ्गुको साक्योङ- पेन्तोङ र तिङ्भोङ ग्राम पञ्चायतसम्म पुग्नलाई मान्ताम पुल एउटै मात्र सम्पर्क माध्यम रहेको थियो।शुक्रवार राति अत्याधिक वर्षा भएपछि नदीमा आएको भेलले बेली पुल डुबाएपछि दुईवटा ग्राम पञ्चायतको सम्पर्क माध्यम टुटेको हो। २०१३ मा मान्ताममा भीषण पैह्रो झरेपछि यी दुईवटा ग्राम पञ्चायतसम्म पुग्ने स्थायी सम्पर्क व्यवस्था अहिलेसम्म बनिएको छैन्। मान्तामबाट कनाका नदी तरेर मात्र पुगिने गाउँका मानिसहरू वर्षाको मौसममा लगातार प्रभावित बन्ने गरेका छन्। हिउँदको समय नदीमा जलस्तर कम हुँदा बेली पुल मानिसहरूको सम्पर्क माध्य हुने गरे पनि बर्षाको भेलले पुनः पुल बगाउने गरेको यहाँ धेरै समयदेखि चल्दै आएको छ। शुक्रवार राति मान्तामको पुल भेलले पुरिएपछि अस्थायी सम्पर्क स्थापित गराउन स्थानिय मानिसहरूबाट पहल शुरु भएपनि यसमा केही समय लाग्नेछ।
पुल डुबेपछि सम्पर्क बिहिन भएका मानिसहरूको सुरक्षा र उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउन प्रशासन लागि पर्नु पर्ने साथै समस्याको चाँडै स्थायी समाधान निकाल्नु अति आवश्य देखिएको छ।