गान्तोक: राज्यका मानिसहरूलाई मैला छुट्याउने साथै विधि, प्रक्रियाबारे सचेत गराउने उद्देश्यले गान्तोक नगर निगमले निरन्तर कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज ताथाङचेन वार्डमा मैला छुट्याउने विधिबारे एक सचेतना कार्यक्रम सम्पन्न भयो।स्थानीयहरूलाई लिएर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक नगर निगमका आयुक्त आरबी भण्डारीले राष्ट्रिय हरित न्यायाधिकरणको निर्देशन, विद्यमान विनियमावली, सरकारी सूचना र फोहोर मैला व्यवस्थापन नियम अनुसार फोहोर मैलालाई स्रोतमै पृथकीकरण गरिएको बताए। जीएमसीले विभिन्न स्थानबाट फोहोर सङ्कलन गर्दा मिश्रित फोहोर उठाउन नसक्ने जानकारी गराउँदै यदि कसैले सुखा र गिलो मैला मिसाउने गर्दछन् भने नियम अनुसार जरिमाना पनि गर्न सकिने प्रावधान रहेको बताए। जीएमसीले वार्ड, क्षेत्रहरूमा सचेतना कार्यक्रम आयोजना गरेर मानिसहरूलाई यसबारेमा सचेत गराउँदै आइरहेको उनले अवगत गराए। उनले स्रोत पृथकीकरण पूरा भए डम्पिङ साइटमा लगेर थुपार्न र रिसाइकल गर्न सहज हुने उनले जानकारी गराए। उनले यसअघि सचेतना शिविरको परिणाम सकारात्मक रहेको बताउँदै यसमा जनता र पार्षद दुवैको अह्म भूमिका रहनेको गरेको बताए। यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै पार्षद पेमा लाम्ठाले आफूलाई ताथाङचेन वार्डका जनताले स्थानीयहरूको कल्याण र विकासको निम्ति काम गर्न चुनेको बताइन्। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य फोहोर मैला प्रबन्धनबारे स्थानीयहरूलाई सचेत गराउनु रहेको अवगत गराइन्। उनले जानकारी गराए अनुसार, जीएमसीले फोहोर मैला प्रबन्धनबारे व्यवस्था शुरू गरेको र यदि यसको कसैले उल्लंघन गरेको खण्डमा जरिमाना तिराउने पनि नियम रहेको जानकारी गराइन्। उनले वरपर सफा र सरसफाइ राख्नु सबैको दायित्व रहेको बताइन्। पार्षद लाम्ठाले झोडामा फोहोर फाल्ने चलन बन्द गर्नुपर्ने सर्वसाधारणलाई आग्रह गरेकी छन्।