सोनादा: यसपालीको माध्यमिक परीक्षामा सोनादाको होलीक्रस उच्चतर माध्यमिक विद्यालयले उत्कृष्ट परिणाम प्राप्त गरेको छ। होली क्रस विद्यालयको जम्मा १९७ जनाले यसपालीको माध्यमिक परीक्षा दिएका थिए जसमा ९ जनाले ए+ अंक ल्याएर पहिलो दर्जामा उत्तीर्ण भएका छन् भने ५६ जना विद्यार्थीहरूले ए ल्याएर पहिलो दर्जामा नै उत्तीर्ण भएका छन्। यस स्कूलकी छात्रा ईशा सुब्बाले सर्वाधिक ८८ प्रतिशत अंक ल्याएर स्कूल टप्पर साथै सम्भवत सोनादा क्षेत्र टप्पर बनेकी छन्। लोवर दिलराम निवासी विकास सुब्बा र बिन्ध्या सुब्बाकी सुपुत्री ईशा सुब्बाले यसपालीको माध्यमिक परीक्षामा ८८ प्रतिशत अंक ल्याएर उत्तीर्ण भई होली क्रस गर्ल्स स्कूल साथै सम्पूर्ण सोनादा क्षेत्र र घर परिवारलाई नै गौरान्वित बनाएका छन्। उनको यो सफलतामा होली क्रस गर्ल्स स्कूलको पक्षबाट पनि हार्दिक शुभकामना व्यक्त गरिएको छ। उनीबाहेक पनि होली क्रस गर्ल्स स्कूलकी अन्य विद्यार्थीहरू क्रमैले केलसाङ तामाङले ८५ प्रतिशत, नुनाम सुब्बाले ८५ र लक्की शेर्पाले पनि ८५ प्रतिशत, श्रेया ओझाले ८२ प्रतिशत, लासाङ शेर्पाले ८१ प्रतिशत, आकृति बम्जनले ८० प्रतिशत, अन्शिका भण्डारीले ८० प्रतिशत र दिव्यन्ता तामाङले ८० प्रतिशत अंक ल्याएर उत्तीर्ण भएका छन्।