जापानको जी-२० शिखर सम्मलेनमा भारतीय प्रधानमन्त्री र युक्रेनी राष्ट्रपतिको भेट

00-1-PM-Modi-Zelenski

हिरोशिमा: प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको हिरोशिमामा भएको जी-७ शिखर सम्मेलनको छेउमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटे। सो क्रममा दुवै नेताबीच द्विपक्षीय वार्ता पनि भएको थियो। वार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भारतको समर्थन र सहयोग मागेका थिए। योसँगै प्रधानमन्त्री मोदीले रुस–युक्रेन युद्ध तत्काल बन्द गर्न अपिल गरेका छन्। प्रधानमन्त्री मोदीले युक्रेनमा जारी युद्धलाई लिएर भारतको अडान यसअघि नै स्पष्ट गरिसकेका छन्। उनले गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा यो युद्धको समय नभएको पनि बताएका थिए। तर, भारतले युक्रेन युद्धलाई लिएर रुसको स्पष्ट आलोचना गरेको छैन।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई भेटेपछि ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्री मोदीसँगको कुराकानीमा मैले युक्रेनी शान्ति सूत्र पहलका बारेमा विस्तृत जानकारी दिएँ र त्यसको कार्यान्वयनमा सामेल हुन भारतलाई निम्तो दिएको छु। मैले युक्रेनको मानवीय सहायता र मोबाइल अस्पतालहरूको आवश्यकताको बारेमा कुरा गरें। म भारतलाई हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा, विशेष गरी अन्तर्राष्ट्रिय संगठनहरूको फोरममा र युक्रेनलाई मानवीय सहायता प्रदान गरेकोमा धन्यवाद दिन्छुl’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटमा प्रधानमन्त्री मोदीले युक्रेन युद्ध विश्वमा ठूलो मुद्दा भएको बताएका छन्। ‘म यसलाई अर्थतन्त्र वा राजनीतिको विषय मात्र ठान्दिनँ। मेरो लागि यो मानवताको मुद्दा हो’, उनले भने। प्रधानमन्त्री मोदीले भने, ‘भारत र म युद्धको समाधानका लागि जे पनि गर्नसक्छौँl’ गत वर्ष अक्टोबर ४ मा जेलेन्स्कीसँगको फोन वार्तामा प्रधानमन्त्री मोदीले कुनै पनि विवादको सैन्य समाधान नहुने बताएका थिए। उनले शान्ति प्रक्रियामा भारत सहयोग गर्न तयार रहेको पनि बताए।

भारत र युक्रेनका वरिष्ठ कूटनीतिज्ञहरूबीच लामो छलफलपछि जेलेन्स्कीसँग प्रधानमन्त्री मोदीको वान टु वान भेट तय भएको थियो। गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमणपछि प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीचको यो पहिलो भेट हो। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले जी–७ सम्मेलनलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने कुरा भएको थियो। पछि उनको कार्यक्रममा परिवर्तन आयो र उनी युरोपेली मुलुक हुँदै जापान पुगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement